२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपाका केन्द्रीय संयोजन समिति सदस्य झलनाथ खनालले पार्टीभित्र नयाँ राजनीतिक समीकरण र सरकार गठनको सन्दर्भमा ‘अपवित्र साँठगाँठ’ नगर्न आग्रह गरेका छन्।
आइतबार सार्वजनिक गरेको अपिलमा खनालले मुलुक जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र, जनअधिकार र संविधानका मूल मर्ममाथि चुनौती देखिएको बताएका छन्। यस्तो अवस्थामा वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच सिद्धान्त र कार्यदिशाका आधारमा एकता आवश्यक रहेको उनको भनाइ छ।
खनालले विगतमा वामपन्थी शक्तिहरूले दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दा पार्टीको राजनीतिक छवि र प्रतिष्ठामा असर पुगेको उल्लेख गर्दै त्यही गल्ती दोहोरिन नहुने बताएका छन्।
उनले पार्टीले कुनै नयाँ राजनीतिक समीकरणमा जानुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाएर वर्तमान परिस्थितिबारे गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, प्रदेश सरकार गठनलगायतका विषयमा पनि पार्टीको नीति, वर्गीय दृष्टिकोण र वैचारिक आधारलाई प्राथमिकतामा राखेर निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
खनालले केही नेताको व्यक्तिगत स्वार्थ वा पद मोहका लागि हुने साँठगाँठबाट पार्टीलाई जोगाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई सही कार्यदिशामा पुनर्गठन र रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले सम्पूर्ण कम्युनिस्ट तथा वामपन्थी शक्तिलाई सिद्धान्त र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न पनि आह्वान गरेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij