२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित कारोबारको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको देखिएको जनाएको छ।
विभागले विष्णु पौडेलसहित १४ जना व्यक्ति तथा कम्पनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक कम्पनीमा उक्त रकम भुक्तानी भएको उल्लेख गरेको छ।
अभियोगपत्रअनुसार प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त भएको हुनसक्ने रकम ती कम्पनीहरूमा भुक्तानी गरेको आशंका गरिएको छ। त्यससम्बन्धी थप अनुसन्धान जारी रहेको र कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
यसअघि विभागले असार २२ गते जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। अनुसन्धानका क्रममा आवश्यक बयान लिनुपर्ने भन्दै बुढानीलकण्ठस्थित उनको निवासमा सूचना टाँस गरिएको थियो। त्यसपछि असार २३ गते गोरखापत्रमार्फत सार्वजनिक सूचना पनि प्रकाशित गरिएको थियो।
विभागका अनुसार हालसम्म जयवीर देउवा अनुसन्धानका लागि उपस्थित भएका छैनन् भने यस विषयमा थप अनुसन्धान जारी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij