२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । केन्द्रमा नेकपा (एमाले) सँगको सहकार्य तोड्ने निर्णय गरे पनि कोशी प्रदेश सरकारबाट बाहिरिने विषयमा नेपाली कांग्रेसले तत्काल हतार नगर्ने भएको छ।
बिहीबार बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले परिस्थितिको ठोस आकलन गर्न भोलि (शुक्रबार) सम्म पर्खने अर्थात् ‘एक दिन होल्ड गर्ने’ निर्णय गरेको हो। बैठकले कोशी प्रदेशको विशिष्ट राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आगामी कदमबारे अन्तिम निर्णय लिने सम्पूर्ण अधिकार संसदीय दलका नेता एवं पार्टी प्रदेश सभापति उद्धव थापालाई सुम्पिएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार कोशी प्रदेश सरकार गठनको कानुनी प्रक्रिया अन्य प्रदेशको तुलनामा फरक रहेकाले तत्कालै मन्त्रीहरूले राजीनामा नदिएका हुन्। ‘यहाँको परिस्थिति अलिक फरक छ, हाम्रोमा संविधानको धारा १६८ (५) बमोजिमको सरकार भएकाले भोलिसम्म पर्खने निर्णय भएको हो,’ तामाङले भने, परिस्थिति हेरेर भोलि उपयुक्त निर्णय हुन्छ।’
नेपली कांग्रेसले बुधबार सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेको थियो । तर केन्द्रको आधिकारिक निर्णय आइनपुगेको प्रमुख सचेतक तामाङले बताए । कोशीमा एमालेसँगको सहकार्य तोडेर कांग्रेसले नेकपासँग सहकार्य गर्न चाहेको छ ।
प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij