२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा एमालेमा करिब ४० प्रतिशत सदस्यले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन् । सो पार्टीले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएको थियो ।
विगतका वर्षहरूमा फागुन चैतमा सदस्यता नवीकरण गर्दै आएको एमालेले यो पटक फागुनको चुनावलाई देखाउँदै असार मसान्तसम्मलाई सदस्यता नवीकरणको समय तोकेको थियो । गत वर्ष भदौमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनले एमालेमा २ किसिमका सदस्यताको व्यवस्था गरेको थियो । जसअन्तर्गत साधारण सदस्य र सङ्गठित सदस्यका रूपमा वर्गीकरण गरेको थियो ।
अघिल्लो वर्ष एमालेमा ६ लाख ६५ हजार सदस्य रहेको एमालेले जनाएको थियो । यसका आधारमा हेर्दा यो वर्ष २ लाख ६६ हजार सदस्यले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । नेकपा एमाले प्रचार तथा प्रसार विभाग प्रमुख नीरज आचार्यले यो पटक सबैले डिजिटल्ली रूपमा सदस्यता नवीकरण गरेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij