२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । डोल्पामा स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित उनीहरू पक्राउ परेका हुन्।
ठूलीभेरी नगरपालिका-३ दुनैबाट त्रिपुरासुन्दरी-७ छल गाउँतर्फ जाँदै गरेको भे१३प ९२६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा संयुक्त सुरक्षा टोलीले उक्त रकम बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा मोटरसाइकलमा सवार ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेका छन्। उनीहरूले बोकेको झोलाभित्र शङ्कास्पद रूपमा राखिएको अवस्थामा सो रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
भेरी करिडोर सडकखण्ड अन्तर्गत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पा, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको संयुक्त टोलीले चेकपोइन्ट खडा गरी जाँच गरिरहेको थियो। नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रकमसहित थप आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij