२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल ‘न्याय मार्च’ विगत तीन दिनदेखि बाराको निजगढमा रोकिएको छ। सरकार र आन्दोलनरत पक्षबीच वार्ता जारी रहेकाले पीडितहरू निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बस्दै आएका छन्।
मंगलबार बिहानदेखि गृहमन्त्री सुधन गुरुङसँग चार चरणमा वार्ता भए पनि ६ बुँदे मागसम्बन्धी मस्यौदामा लिखित सहमति हुन नसक्दा आन्दोलन र वार्ता दुवैमा अन्योल कायम भएको हो। मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेका अनुसार बुधबार राति ८स्१५ बजेदेखि सुरु भएको चौथो चरणको वार्ता करिब चार घण्टासम्म चलेको थियो। तर, मागका बुँदाहरूमा कुरा नमिल्दा वार्ता बिना निष्कर्ष टुङ्गियो।
आन्दोलनरत पक्ष र सरकारबीच विवादको मुख्य विषय ६ बुँदे सहमति-पत्रको मस्यौदा बनेको छ। अभियन्ता घिमिरेले भनिन्, ‘गृहमन्त्रीज्यूले मौखिक रूपमा स्वीकार गरिसक्नुभएको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी आधिकारिक वैधानिकता दिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ।’
सरकारले लिखित प्रतिबद्धता नजनाएसम्म काठमाडौं तर्फको पैदल यात्रा र आन्दोलन जारी रहने पीडितहरूले चेतावनी दिएका छन्। मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी अध्ययनका लागि गठित विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भने गरिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij