२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । विशेष अदालतले मंगलबार एकैदिन दुई ठूला भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ ।
गैरकानुनी सम्पत्तिआर्जनको एउटा मुद्दामा उनलाई साढे दुई वर्ष कैद सजाय भएको छ, भने घुससम्बन्धी अर्को मुद्दामा सजाय निर्धारण हुन बाँकी रहेको छ । दुवै मुद्दामा उनले साढे १५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर भएको हो ।
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै जेल सजाय र जरिवाना सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले थप ६ महिना गरी कुल २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
यस्तै, उनले गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरिएको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत हुने र सोही बराबरको थप जरिवाना पनि तिर्नुपर्ने फैसला भएको छ । यसका साथै, अपराध पीडित संरक्षण ऐन बमोजिम ५१ लाख २ हजार ८०९ रुपैयाँ ४९ पैसा क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्नेछ ।
यस मुद्दामा सुनिल पौडेलका भाइ अनिल पौडेललाई पनि प्रतिवादी बनाइएको थियो। तर, अनिल पौडेलको नाममा रहेका केही सम्पत्तिहरू ऋण र अंशबण्डाबाट प्राप्त भएको देखिएको र सुनिलको अवैध कमाइ त्यसमा प्रयोग भएको स्पष्ट आधार नपुगेको भन्दै उनको नाममा रहेका जग्गाजमिन जफत नगर्न अदालतले आदेश दिएको छ ।
पौडेल यसअघि नै पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा समेत दोषी ठहर भइसकेका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।
अख्तियारले पौडेलको घरबाट उपकरण बरामद गर्ने क्रममा सिंगापुरबाट कारोबार भएको विवरण खुलेको थियो । सिंगापुर बैंकमै रकम लुकाएको आरोपमा उनी गैरकानूनी सम्पत्तिआर्जनको मुद्दामा समेत दोषी ठहर भएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij