२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । उच्च अदालत पाटनले बहुचर्चित रातो पासपोर्ट (कूटनीतिक राहदानी) दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन जना सदस्यलाई दोषी ठहर गरेको छ । अदालतले काठमाडौं जिल्ला अदालतले यसअघि सुनाएको जेल सजाय र जरिवानाको फैसलालाई सदर गर्ने निर्णय गरेको हो ।
गत असार २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादव राहदानी ऐन विपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको छ ।
काठमाडौं जिल्ला अदालतले ०७१ साल जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।
यो मुद्दामा बिचौलियाको अभियोग लगाइएका डिलबहादुर घर्ती, गोपाल बानियाँँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij