२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रतिनिधि सभा सदस्य (सांसद) आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति तत्काल सच्याउनुपर्ने माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले डेढ महिनादेखि प्रतिपक्ष र अन्य दलहरूले प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सच्याउन माग गरिरहे पनि सरकारले कुनै वास्ता नगरेको आरोप लगाएका छन्। प्रधानमन्त्री शाहको मौनताप्रति कडा टिप्पणी गर्दै उनले भने, डेढ महिना भइसक्यो, बरु ढुङ्गा बोल्ला तर हाम्रा मान्छे (प्रधानमन्त्री) बोल्दैनन् जस्तै भएको छ।
यसले देशमा ठूलो डर र चिन्ता पैदा गरेको छ। सांसद राईले प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको मेयर रहँदाको एउटा प्रसङ्ग समेत संसद्मा स्मरण गराए। उनले भने, वर्तमान प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या पर्दा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो र पछि सिंहदरबार जल्यो। अहिले देशको संवेदनशील विषय मानिने सीमाका बारेमा पनि उहाँले जुन अभिव्यक्ति दिनुभएको छ, भोलि यसले पनि त्यस्तै भयावह स्थिति निम्त्याउने त होइनरुूयद्यपि, प्रधानमन्त्री शाहले दिएको उक्त सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति नियतवश नै आएको भन्ने आफूलाई नलागेको सांसद राईको भनाइ थियो।
भूलवश वा असावधानीका कारण त्यस्तो अभिव्यक्ति आएको भए पनि राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएकाले प्रधानमन्त्री स्वयं संसद्को रोस्ट्रममा उभिएर देशवासीका सामु जवाफदेही हुनुपर्ने र आफ्नो गल्ती सच्याउनुपर्ने उनले जोड दिए।प्रधानमन्त्रीको राष्ट्रिय सीमा सम्बन्धी अभिव्यक्तिका कारण सदनमा लामो समयदेखि विवाद चलिरहेको भन्दै श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलहरूले यो विषय नटुङ्गिएसम्म सरकारमाथि प्रश्न उठाइरहने चेतावनी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij