२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्वहाली भएकी छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पहाडी पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत असार २६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पहाडीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्वहाली गरिएको हो । यसअघि लागेको आरोपका कारण उनी निलम्बनमा परेकी थिइन् ।
पदबहालीका क्रममा आयोजित विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताइन् । उनले विगतमा आफूमाथि लागेका आरोप र सिर्जना गरिएको भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गरिन्।
अर्यालले टेलिकमको सेवालाई अझ बढी ग्राहक मैत्री बनाउने संकल्प गर्दै कम्पनी आफ्ना ग्राहक, सरोकारवाला र आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न सदैव प्रतिबद्ध रहने बताइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij