२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गर्ने एक गिरोहलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा तीन जना बंगलादेशी नागरिक, एक जना नेपाली र अन्य एक जना गरी जम्मा पाँच जना रहेका छन्। अनुसन्धानका क्रममा यो गिरोह अनलाइन ठगी मात्र नभई अवैधानिक रूपमा क्रिप्टोकरेन्सी तथा अमेरिकी डलरको अवैध कारोबारमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोका अनुसार यो गिरोहले सामाजिक सञ्जाल फेसबुकमा कतारस्थित प्रतिष्ठित कम्पनीहरूमा अन्तर्वार्ता बिना नै सिधै रोजगारी पाइने भन्दै भ्रामक विज्ञापनहरू पोस्ट गर्ने गरेका थिए। विज्ञापन हेरेर सम्पर्कमा आउने सेवाग्राहीहरूलाई उनीहरूले एउटा शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाउँथे। सोही एपमार्फत पीडितहरूको मोबाइल र बैंक खातामा पहुँच बनाई बैंकमा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरेर ठगी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।
यस्तो प्रकृतिको ठगी भएको भन्दै पीडितहरूबाट निवेदन परेपछि साइबर ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा यो टोली असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचर क्षेत्रबाट बंगलादेशतर्फ भाग्न लागेको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाषकुमार मण्डल रहेका छन्। त्यस्तै पक्राउ पर्ने बंगलादेशी नागरिकहरूमा २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल रहेका छन्।
पक्राउ परेका पाँचै जना विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको साइबर ब्यूरोले सोमबार जानकारी दिएको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij