२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलाको बाढीले एउटा १२ चक्के ट्रक बगाएको छ।
सोमबार बिहान करिब ७:४५ बजे भएको उक्त दुर्घटनामा ट्रकका चालकले भने पौडिएर आफ्नो ज्यान जोगाउन सफल भएका छन्। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार, हेटौंडा-१७ मा रहेको शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्किँदै गरेको ना ७ ख ७६५ नम्बरको ट्रक बाढीको चपेटामा परेको हो।
खोला तर्नका लागि ह्युमपाइप राखेर बनाइएको कल्वर्ट ९लच्का० मा अचानक पानीको बहाव बढेपछि ट्रकलाई बाढीले बगाएको प्रहरीले जनाएको छ। बाढीले ट्रक बगाए लगत्तै चालक चितवनको रत्ननगर नगरपालिका-१३ का ३४ वर्षीय दीपक थिङले पौडिएर ज्यान जोगाएका हुन्।
खोलाबाट बाहिर निस्कने क्रममा उनको खुट्टामा सामान्य चोट लागेको छ। घाइते थिङको हेटौंडा उपमहानगरपालिका-६ चौघडास्थित एक स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अहिले बाढीमा फसेको ट्रकलाई खोलाबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षायाममा खोलाहरूमा पानीको बहाव उच्च हुने भएकाले यस्ता जोखिमपूर्ण सडक र लच्काहरू पार गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij