२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनिकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तिब्र बनाएको छ ।
प्राधिकरणको आईतवार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोईरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनिकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताए ।
उनका अनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले बताए । उनका अनुसार सबै क्लस्टर लिडर, को–लिडर, सडक, सिंचाई लगायतका विभागीय प्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीस्तरीय निर्देशन कार्यान्वयनको प्रगति विवरण संकलन गरिएको हो । संकलन गरिएको विवरण गृहमन्त्रीलाई बुझाउने उनले जानकारी दिए ।
उच्च शतर्कता अपनाउन आग्रह
उनले हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि जानकारी दिए । उनका अनुसार आईतवार राति र सोमबार पूर्वीक्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ ।
प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ । समयमै सूचना पालना गरेमा जनधनको क्षति न्युनिकरण गर्न ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij