२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । महिलाको सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले साझा यातायात मार्फत सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवाको सुरुवातमा केही ढिलाइ हुने भएको छ।
आर्थिक वर्ष २०८३\०८४ को पहिलो दिन अर्थात् साउन १ गतेदेखि नै यो सेवा सञ्चालन गर्ने घोषणा गरिए पनि आवश्यक तयारी नपुग्दा तोकिएको समयमा सेवा सुरु हुन नसक्ने भएको हो। साझा यातायातको रैथाने हरियो बसलाई निलो रङमा पोतेर ‘ब्लु बस’ बनाउन लागिएको भन्दै सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार सामाजिक सञ्जालमा देखिएका निलो साझा बसका तस्बिरहरू कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर बनाइएका हुन्।
६४ वर्षको लामो इतिहास बोकेको साझा यातायातको आफ्नै विशिष्ट ब्रान्ड र हरियो पहिचान छ। सो पहिचानलाई नबिगारी महिला विशेष सेवाका लागि छुट्टै उपाय खोजिँदै छ। साझाका सीईओ अर्यालले स्पष्ट पारेका छन्, साझाको मौलिक ब्रान्ड फेर्ने हाम्रो कुनै योजना छैन। पटक(पटक रङ बदल्दा जनमानसमा नकारात्मक सन्देश जान्छ। त्यसैले बसको पुरै रङ फेर्नुको सट्टा महिला सेवा पहिचान गराउन बसमा विशेष स्टिकर, साङ्केतिक रूपमा ‘ब्लु बस’ लेख्ने वा केही निश्चित ठाउँमा मात्र निलो रङको चिह्न प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ।
अर्यालका अनुसार सरकारले साउन १ गतेदेखि काठमाडौंमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने चर्चा गरे पनि बजेट र कार्यविधिको सुनिश्चितता नभएसम्म तत्कालै सेवा सुरु हुने अवस्था छैन । उनले साउन १ गते नै बस सञ्चालन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
सरकारले साउन १ गतेदेखि साझाका २६ सिट क्षमताका आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालनमा ल्याउने योजना अघि सारेको थियो, तर तयारी नपुगेकाले सञ्चालनको समय र बसको अन्तिम सङ्ख्या भने अझै टुङ्गो लागि नसकेको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij