Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरका २१ खबर

आज दिनभरका २१ खबर


  • 1.4K
    Shares

    आज दिनभरका २१ खबर
    images

    १. होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’

    काठमाडौंका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् । मध्यरात करिव १२ः४० बजेबाट सेन्टरमा बाढी पस्न शुरु गरेको थियो । अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् । पीडित दलमर्दन कामीले खाजा भनेर एउटा मिठाइ दिने काम मात्रै गरेको आरोप लगाउनु भयो । आफैँ बसेको स्थानमा जान पनि पीडितहरुलाई नदिइएको गुनासो गर्नुभयो । बाढीले रातभर सुत्न नदिइएको बताउँदै आफूहरुलाई अब मर्नुको विकल्प नरहेको बताउनु भयो । 

    २. स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु

    नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा दुई दिने शैक्षिक मेला शुरु भएको छ । विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ । मेलाका आयोजक एवं भिजन मिडिया इन्कर्पोरेशन एजुकेसन डटकमका प्रवन्ध निर्देशक तारामान रावलकाअनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयहरूको क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ । 

    ३. स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, तीन आर्थिक वर्षको प्रगति विवरणले देखाायो चिन्ताजनक चित्र

    नेपाल सरकारको दैनिक प्राप्ति र खर्चको विवरणअनुसार विगतका आर्थिक वर्षहरूमा मुलुकको बजेट कार्यान्वयनको अवस्था असन्तुलित र चुनौतीपूर्ण देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तीन आर्थिक वर्षको असार २६ गतेसम्मको तथ्याङ्कलाई तुलनात्मक रूपमा अध्ययन गर्दा सरकारको स्रोत संकलनमा आएको संकुचन र पुँजीगत अर्थात विकास खर्च गर्ने क्षमतामा देखिएको शिथिलताले मुलुकको अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरेको छ । आर्थिक वर्ष २०८०–०८१ एकासी, २०८१–०८२ र २०८२–०८३ को असार २६ गतेसम्मको बजेटरी प्रगतिले सरकारी खर्चको ठूलो हिस्सा चालु र प्रशासनिक कार्यमा मात्र केन्द्रित भएको प्रस्ट पार्दछ ।

    ४. सरकार जनभावनाविपसरत निरंकुशताको बाटोमा लागेको पूर्वमुख्यमन्त्री जम्मरकट्टेलको आरोप

    वागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । शनिवार काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्दै उहाँले जनताले ठूलो आशा र भरोसाका साथ दुई–तिहाइको जनमत दिएपनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्नुभएको हो । पूर्वमुख्यमन्त्री जम्मरकट्टेलले पुराना राजनीतिक शक्तिहरूले काम गर्न नसकेको भन्दै नयाँ परिवर्तनको आशमा जनताले मतदान गरेको स्मरण गराउनु भयो । यद्यपि, वर्तमान सरकारको अवस्था निराशाजनक रहेको र यसले जनभावनाको कदर गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो । 

    ५. पुराणमा सिमित मोक्षमार्ग अब वागमती सरकारले ब्युँताउँदै

    करिव २ हजार ९ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सिमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । वागमती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान शुरु गरेको हो । डीपीआरअनुसार परियोजनाको कुल लागत १ खर्ब ९३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२–८३ मा सहरी विकास तथा भवन कार्यालय सिन्धुली, काठमाडौं र काभ्रेका लागि ४ करोड २० लाख बजेट विनियोजन गरी तीन गुणा स्रोत सहमति दिइएको छ । 

    ६. कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति

    पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अन्तर्गत कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति कार्यले गति लिएको छ । आयोजना अन्तर्गत सप्तरीको माहुली क्षेत्रमा हाल धमाधम कालोपत्रे (पिच) गर्ने कार्य भइरहेको छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ ले निर्माण गरिरहेको यस सडकको हालसम्मको कुल भौतिक प्रगति ७२ देखि ७५ प्रतिशत पुगेको छ । वि.सं. २०७७ कात्तिक १३ गतेदेखि निर्माण शुरु गरिएको यस आयोजनाको काम लक्ष्यअनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ । सडक विभाग, आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तिब्रता दिइएको छ ।

    ७. अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि

    चालु आर्थिक वर्ष २०८२–८३ मा राजश्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष सकिनु अगाडि असार २६ गतेसम्मको राजश्व संकलन वृद्धि भएको देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को असार २६ गतेसम्ममा लक्षको ७७.१५ प्रतिशत राजश्व संकलन भएको यो वर्ष भने राजश्व संकलन वृद्धि भएर करिव ८० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएकोमा असार २६ सम्ममा ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

    ८. २८ घटामा ३ आत्मदाह प्रयास–नेपालमा बढ्दै ‘वेर्थर प्रभाव र वेदर इफेक्ट’

    नेपालको आधुनिक इतिहासमै अत्यन्तै संवेगात्मक र विचलित बनाउने परिघटनाहरू पछिल्लो २८ घण्टाभित्र भएका छन् । एकपछि अर्को गर्दै लगातार तीन नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्नु केवल व्यक्तिगत दुःखान्त मात्र होइन, यो समग्र राष्ट्रिय मानसिक स्वास्थ्य, आर्थिक प्रणाली र सामाजिक सुरक्षा संयन्त्र असफल भएको निर्मम प्रमाण हो । त्रिपुरेश्वरमा बिहीवार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मुगुका गणेश नेपालीको शुक्रवार वीर अस्पतालमा उपचारको क्रममा निधन भयो । यो शोकको खबर सेलाउन नपाउँदै शुक्रवार नै सर्लाहीको गोडैता नगरपालिका वडा नं. १० का विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे । जसको हाल अस्पतालमा उपचार भइरहेको छ । र फेरि शनिवार बिहान काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरको भान्सा कोठामा आश्विन राउतले शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् ।

    ९.‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह

    पूर्वराजदूत तथा कुटनीतिज्ञहरूले नेपालले अवलम्वन गर्दै आएको ‘एक चीन नीति’ प्रति सरकार थप दृढ र संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन जिल्ला प्रशासन कार्यालयले औपचारिक अनुमति दिएको र उक्त कार्यक्रममा विदेशी कुटनीतिज्ञहरूको सहभागिता रहेको विषयप्रति उनीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । पूर्वराजदूत एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले नेपालले अंगीकार गर्दै आएको ‘एक चीन नीति’ प्रति सरकार प्रतिवद्ध रहनुपर्नेमा जोड दिँदै कुटनीतिक संवेदनशीलतालाई ध्यान दिन आग्रह गर्नुभएको छ । तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमै अनुमति दिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    १०. अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती

    फ्रान्समा जारी अत्याधिक गर्मी र तातो हावा (हिटवेभ) का कारण पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयले आफ्नो दैनिक सञ्चालन समयमा कटौती गरेको छ । सङ्ग्रहालय प्रशासनले शुक्रवारदेखि आगामी सोमवारसम्म सङ्ग्रहालयलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारी अनुसार अत्यधिक गर्मीका कारण जुलाई १० देखि १३ सम्म सङ्ग्रहालय नियमित साँझ ६ बजेको सट्टा अपराह्न ४ बजे नै बन्द हुनेछ । लुभ्रसँग आबद्ध युजेन डेलाक्रोआ राष्ट्रिय सङ्ग्रहालयले पनि सोही परिवर्तित समय तालिका पछ्याउने सङ्ग्रहालयले जनाएको छ । फ्रान्सेली मौसम विभाग मेतियो–फ्रान्स’ ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनाको अन्त्यमा देखिएको असामान्य गर्मीपछि पुनः देशभर तापक्रम तिब्र रूपमा बढ्न थालेको छ । 

    ११. इजिप्टको वार्षिक मुद्रास्फीति दरमा गिरावट, रेमिट्यान्स आप्रवाहमा ३१ प्रतिशतको वृद्धि

    इजिप्टको वार्षिक मुद्रास्फीति दर जुन महिनामा केही ओरालो लागेको छ । इजिप्टको केन्द्रिय तथ्याङ्क निकायले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनामा वार्षिक मुद्रास्फीति दर १२.२ प्रतिशतमा झरेको छ । अघिल्लो महिना अर्थात् मे महिनामा यो दर १३ प्रतिशत रहेको थियो । तथ्याङ्क निकायकाअनुसार जुन महिनामा राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकांक २८९.५ अंकमा कायम भएको छ, जुन मे महिनाको तुलनामा ०.९ प्रतिशतको गिरावट हो । विशेषगरी खाद्य सामग्रीको मूल्यमा आएको कमीले समग्र मुद्रास्फीति घटाउन मद्दत पु¥याएको हो । जुन महिनामा मासु तथा पोल्ट्रीजन्य उत्पादनको मूल्य ६.४ प्रतिशत, दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य २.४ प्रतिशत र तरकारीको मूल्य १२.१ प्रतिशतले घटेको छ । 

    १२. चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु

    चीनको पहेँलो नदी (येलो रिभर) मा अवस्थित प्रसिद्ध ‘हुको छहरा’ मा यस वर्षको मुख्य बाढीको सिजन शुरु भएको छ । माथिल्लो तटीय क्षेत्रमा भएको भारी वर्षा र विभिन्न जलाशयहरूबाट गरिएको पानीको समन्वयात्मक निकासका कारण छहरामा जलस्तर उल्लेख्य रूपमा वृद्धि भएको हो । पहेँलो नदीको माथिल्लो क्षेत्रमा लगातारको वर्षासँगै वान्जियाझाइ कजस्ता प्रमुख बाँधहरूबाट पानी छोडिएपछि छहराको स्वरूप थप विशाल र गर्जनपूर्ण बनेको छ । जलस्तर बढेसँगै छहराको चौडाइ विस्तार भएको छ भने पानीको बेगका कारण उत्पन्न हुने वाष्पीकरणले वरपरको वातावरणलाई कुहिरोमय बनाएको छ । नदीमा बालुवा र माटोको मात्रा बढेका कारण छहराले आफ्नो विशिष्ट स्वर्ण रङ धारण गरेको छ । 

    १३. दक्षिण स्पेनको भीषण डढेलोमा ११ जनाको मृत्यु, १९ बेपत्ता

    स्पेनको दक्षिणी अन्डालुसिया क्षेत्रमा बिहीवार दिउँसो शुरु भएको भीषण डढेलोमा परी ११ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । क्षेत्रीय अधिकारीहरूले शुक्रवार यस घटनाको पुष्टि गरेका हुन् । अन्डालुसियाका क्षेत्रीय सरकारका राष्ट्रपति जुआन्मा मोरेनोका अनुसार मृतकको संख्या १२ पुग्न सक्ने सम्भावना छ । डढेलो प्रभावित क्षेत्रमा अर्को एक शव फेला परे पनि त्यसको औपचारिक सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए । क्षेत्रीय स्वास्थ्य तथा आपतकालीन मामिला मन्त्री एन्टोनियो सान्जले लस गालार्डोसमा लागेको यस डढेलोलाई अन्डालुसियाको इतिहासकै सबैभन्दा भयावह र अभूतपूर्व त्रासदीको रूपमा वर्णन गरेका छन् । मृतकहरूमा बेलायती, बेल्जियम र स्पेनका नागरिकहरू रहेको आशंका गरिए तापनि उनीहरूको राष्ट्रियता र पहिचानको आधिकारिक पुष्टि हुन बाँकी छ । 

    १४. भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु

    भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार रातिदेखि परेको भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । वर्षासँगै आएको बाढी र डुबानका कारण दिल्लीका विभिन्न क्षेत्रमा व्यापक अवरोध सिर्जना भएको छ । भारतीय मौसम विज्ञान विभागले भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना औंल्याउँदै रेड अलर्ट जारी गरेको छ । अत्यधिक वर्षाका कारण दिल्लीका मुख्य सडकहरू जलमग्न भएका छन् । सडकमा घुँडासम्म पानी जमेपछि पैदल यात्रीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने सवारी साधनहरूको गति सुस्त बनेको छ । विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध हुँदा लामो ट्राफिक जाम देखिएको छ ।

    १५. मस्कोमा दुई ह्युमलोइड रोबोटबीच विवाह सम्पन्न

    रुसको राजधानी मस्कोमा दुईवटा ह्युमलोइड (मानव स्वरूपका) रोबोटबीच एक विशेष समारोहका बीच विवाह दर्ता सम्पन्न भएको छ । प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई प्रदर्शन गर्ने उद्देश्यले आयोजित यस अनौठो कार्यक्रममा दुई रोबोटले एक–अर्काप्रति प्रेम र प्रतिवद्धता व्यक्त गरेका हुन् । आधिकारिक विवाह दर्ता कार्यालयको झल्को दिनेगरी आयोजना गरिएको उक्त समारोहमा रोबोटहरूले मानव वैवाहिक परम्पराझैं संवाद गरेका थिए । कार्यक्रमका क्रममा दुवै रोबोटले एक–अर्कालाई जीवनसाथीका रूपमा स्वीकार गर्ने घोषणा गरेपछि उपस्थित पाहुनाहरूले उनीहरूको ‘मिलन’ लाई ताली बजाएर स्वागत गरेका थिए । 

    १६. सगरमाथा क्षेत्रमा डीजेआई ड्रोनको नयाँ कीर्तिमानः ८,८६१ मिटरको उचाईमा उडान

    चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित १२ दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो । कम्पनीकाअनुसार इभी–५०’ मोडेलको ‘भर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ’ फिक्स्ड–विङ हाइब्रिड ड्रोनले निश्चित तौल (पेलोड) सहित ८,८६१ मिटरको उचाईमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ । 

    १७. साउदी अरब र क्यानडाबीच द्विपक्षीय सहयोग विस्तारका लागि विभिन्न समझदारी पत्रमा हस्ताक्षर

    साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच बिहीवार जेद्दामा उच्चस्तरीय भेटवार्ता भएको छ । साउदी प्रेस एजेन्सीकाअनुसार उक्त भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय घटनाक्रमका विषयमा समीक्षा हुनुका साथै विभिन्न महत्वपूर्ण समझदारी पत्रहरू आदानप्रदान गरिएको छ । दुई देशबीच भएका समझदारीहरूमा ऊर्जा क्षेत्रमा सहकार्य, ‘साउदी–क्यानडा समन्वय परिषद्’ को स्थापना, तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी र सीप विकास गर्ने लगायतका विषयहरू समावेश छन् । 

    १८. इन्टर्न चिकित्सकहरूको माईतीघरमा प्रदर्शन

    एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरुले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छन् । एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिवार चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिएको बताउनु भयो । उहाँले शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पु¥याउने निर्णय गरेको बताउनु भयो । मन्त्रालयले उक्त विषयमा अध्ययन समिति नै गठन गरी निर्णय गरेको भएपनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म निर्णय कार्यान्वयन हुन नसकेको जानकारी दिनुभयो । 

    १९. युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो ? भन्दै माईतीघरमा प्रदर्शन

    जनपक्षिय ट्रेड युनियन महासंघले माईतीघरमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । महासंघले शनिवार गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पु¥याएको भन्दै विरोध प्रदर्शन गरेको हो । युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो ? भन्ने व्यानरसहित आन्दोलनमा सहभागीहरुले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन् । प्रदर्शनकारीहरुले युवाहरुलाई आत्मदाह गर्ने बाध्यता होईन, रोजगार देउ !, बालेन, रवि, स्वर्णिम बराबर ओली, देउवा, प्रचण्ड, गणेश नेपालीको हत्यारा सरकार – मुर्दावाद, युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो ? श्री ३ बालेन, रवि, स्वर्णिम सरकारले लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    २०. विगतका अध्ययन प्रतिवेदनको आधारमा नयाँ यातायात ऐन बनाउनुपर्छः महासंघ अध्यक्ष सिटौला

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित ऐन संशोधन गर्दा विगतमा सरकारले गठन गरेका अध्ययन आयोग र समितिहरूको प्रतिवेदनलाई आधार बनाएर बनाउन माग गर्नुभएको छ । 
    शनिवार काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्द उहाँले विभिन्न समयमा सरकारद्वारा गठित आयोग तथा समितिले सरकारलाई बुझाएको प्रतिवेदनको आधारमा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

    २१. सांसदहरु भन्छन्, ‘पोषणमैत्री कानून, पर्याप्त बजेट र जनचेतनाविना कुपोषण अन्त्य गर्न सम्भव छैन’

    नेपालमा कुपोषणको कुपोषण न्युनिीकरणका लागि बालबालिकामा लगानी बढाउन, पोषणमैत्री कानुन निर्माण गर्न र बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । ‘नेपालमा बालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका’ विषयक राष्ट्रिय संवादमा कार्यक्रममा सहभागीहरुले पोषणमैत्री कानुन, पर्याप्त बजेट र जनचेतनाविना कुपोषण अन्त्य सम्भव नरहेको बताएका हुन् । कार्यक्रममा राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्यले बालपोषणलाई प्राथमिकतामा राखेर पोषणमैत्री कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कानून निर्माणको लागि आफूले संसदमार्फत पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आषाढ २७ २०८३ शनिवार - २०:५८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij