Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरका ४४ खबर

आज दिनभरका ४४ खबर


  • 1.7K
    Shares

    आज दिनभरका ४४ खबर
    images

    १. सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा एमाले र राप्रपा

    संघीय संसदको सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न पाँच वटा उपसमिति गठन गरेको हो । समितिका सभापति भरतबहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायहरूमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएका बेरुजुहरूलाई समयमै फस्र्यौट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायहरूलाई पाँचवटा समूहमा विभाजन गरेको छ । अर्थ र सुशासन उपसमितिको संयोजकमा रुकेश रञ्जित चयन हुनुभएको छ । यस समूहले अर्थ मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित बेरुजुको अध्ययन गर्नेछ । राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञबहादुर बोगटी हुनुहुन्छ । 

    २. सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनु दुःखद्ः रास्वपा उपनेता पराजुली

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ । शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्दै यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उपनेता पराजुलीले भन्नुभयो, ‘सरकारले बनाउने नीति, योजना र कार्यक्रमका कारण नागरिकले कम्तीमा राहतको सास फेर्न पाउनुपर्ने हो । तर यदि सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नुपरेको आरोप सही हो भने त्यसबारे गम्भीर भएर सोच्न आवश्यक छ ।’

    ३. सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेको छ । शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएको हो । केही दिनअघि नेपालमा दलाई लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसदमा नेपाल एक चीन नीति विपरित गएको हो ? भन्दै प्रश्न उठेको थियो । सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनु भयो । उहाँले नेपालले नेपालको भूमि कुनैपनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने बताउनु भयो । 

    ४. सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’

    काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रवार निधन भएसँगै नागरिकहरु सरकारको विरोधमा उत्रिएका छन् । बिहीवार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरी १० हजार रुपैयाँ जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आत्मदाहको बाटो रोजेका थिए । नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण, चालक तथा राइडरहरूले शुक्रवार माईतीघर मण्डलमा भेला भई सरकार र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन् । सो क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरू दोहोरिएको बताए । 

    ५. सरकार नागरिकको जीवनभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको सचेतक राईको आरोप

    नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाउनुभएको छ । शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाउनुभएको हो । हालै भएको गणेश नेपालीको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै सचेतक राईले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । घटनापछि गृहमन्त्रीको सक्रियताप्रति टिप्पणी गर्दै राईले सरकारमा संवेदनशीलताको कमी देखिएको जिकिर गर्नुभयो । 

    ६. विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ?

    उत्तरी अमेरिकी राष्ट्रमा फुटबलको महाकुम्भ मेला फिफा विश्वकपले विश्वकै ध्यान आकर्षित गरिरहेको छ । विश्वकपमा ४८ देशका १ हजार २ सय ४८  खेलाडीको प्रत्यक्ष सहभागिता रह्यो । सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिने फिफा विश्वकपमा विशेष त युवा वर्ग बढी आकर्षित छन् । विश्वभरका खेलाडीहरू हरेक युवाका आइकन पनि हुन् । विश्वकप फुटबलजस्तै अर्को चासोको विषय हो, जलवायु परिवर्तन । पृथ्वीको तापक्रम वृद्धिसँगै विश्वभरनै जलवायु जन्य विपद्का घटना बढ्दै गइरहेका बेला यो अभियानमा युवाहरुको सहभागीतालाई महत्वपूर्ण खम्बाको रुपमा हेरिएको छ । जलवायु परिवर्तनका अलराउण्डरका रूपमा युवालाई अघि बढाउनुपर्छ भन्ने अवधारणाअनुसार जलवायु कार्यमा कार्यरत संघसंस्था वर्गलाई प्राथमिकता दिएको पाइन्छ । अलराउण्ड भनेको सबै क्षेत्र र रणनीतिमा आफूलाई तयार बनाउनु हो । 

    ७. विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली

    लेखक एवं शिक्षाविद् डा. रघु मैनालीले कक्षाकोठाको रूपान्तरणका लागि ठूलो लगानीभन्दा पनि विद्यार्थीका कुरा सुन्ने शिक्षकको सानो तर सार्थक निर्णय महत्वपूर्ण हुने बताउनुभएको छ । आफ्नो नवीनतम कृति ‘सञ्चारशील कक्षाकोठा’ को विमोचनका अवसरमा उहाँले यस्तो धारणा राख्नुभएको हो । डा. मैनालीले ज्ञानको सह–निर्माण र विद्यार्थीलाई सुन्ने शिक्षाका सैद्धान्तिक एवं व्यावहारिक आयामहरूलाई समेटेर यो पुस्तक तयार पारिएको जानकारी दिनुभयो । कक्षाकोठामा शिक्षकले विद्यार्थीका कुरा ध्यानपूर्वक सुन्दा मात्र उनीहरूमा बोल्ने र सिक्ने साहस पलाउने उहाँको तर्क छ । उहाँले मानिसको स्वभाव र विश्वास गर्ने प्रक्रियाका बारेमा चर्चा गर्दै कुनै पनि कुरालाई सहजै पत्याउनुअघि मानिसले तीनवटा प्राकृतिक कसी (कमन सेन्स) बाट विश्लेषण गर्ने उल्लेख गर्नुभयो ।

    ८. मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दैछः सांसद खरेल

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसदमा समेत आवाज उठाएको जानकारी दिनुभयो । मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दै गएको उल्लेख गर्दै उहाँले गणेश नेपालीलाई आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाको प्रतिनिधि भएको बताउनु भयो । सांसद खरेलले जस्तोसुकै तर्क गरे पनि यस घटनामा मृतक नै सही भएको जिकिर गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार तत्पर हुनुपर्ने बताउनु भयो ।

    ९.माईतीघरमा नारा–बालेन सरकारको हातमा रगत छ ! 

    त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माईतीघर यतिबेला तनावग्रस्त बनेको छ । बिहीबार महानगर प्रहरीले जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि सो घटनाको विरोधमा शुक्रवार माईतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारविरुद्ध नाराजुलुस गरिरहेका छन् । प्रदर्शनरतहरुले बालेन सरकारको हातमा रगत छ, ट्राफिक आतंक बन्द गर,  गरिब मारा आतंक बन्द गर, आत्मदाहको श्रृष्टिकर्ता दलाल पुँजीवाद व्यवस्था, फासीवाद सरकार मुर्दावाद, गणेश नेपालीको हत्यारा बालेन सरकार हो, पीडित परिवारलाई क्षतिपूर्ति दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    १०. माईतीघरमा अखिल क्रान्तिकारी–‘कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट’

    नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको माईतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरुले माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । बिहीवार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले नगर प्रहरीले बाइकमा ह्वील लक लगाएको र १० हजार जरिबाना मागको भन्दै आत्मदाहको प्रयास गरेका थिए । वीर अस्पतालमा उपचारका क्रममा उनको शुक्रवार निधन भएको हो । उनको निधनपछि देशका विभिन्न स्थानमा उनलाई न्याय दिन माग गर्दै प्रदर्शन भइरहेका छन् । माईतीघरमा पुगेका अखिलका विद्यार्थीले कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट, सुकुम्बासीमाथिको बर्बर राज्य आतंक बन्द गर, हत्यारा सरकार मुर्दावाद, प्रधानमन्त्रीज्यु नहेर्ने, नसुन्ने, नबोल्ने ? 

    ११. महिला चालकलाई पर्यटन आतिथ्यता तालिम

    नेपालको पर्यटन क्षेत्रलाई लैङ्गिक र सामाजिक रूपमा समावेशी बनाउने उद्देश्यका साथ महिला तथा सीमान्तकृत समुदायका लागि क्षमता अभिवृद्धिसहतिको स्वरोजगार बनाउने अभियान शुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा दिगो पर्यटन परियोजना मार्फत महिलाहरूलाई रोजगारीको ग्यारेन्टीसहित सवारी चालक र पर्यटन आतिथ्यता तालिम दिन शुरु गरेको हो । यसअघि बहिराहरुलाई बारिष्ठा, टुरिस गाईड महिलालाइ ¥याफ्टिङ लगायत तालिम सञ्चालन गर्दे पर्यटन व्यवसायलाई समावेशी बनाउने प्रयासमा लागेको बोर्डले अहिले पर्यटन सवारी चालक महिलाका लागि आतिथ्य सत्कार तालिम दिएको हो । युएनडीपीकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिममा सहभागी महिलाको रोजगारी सुनिश्चित गरिएकाले तालिमले महिलाको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो ।

    १२. बैंकिङ च्यानलमा थुप्रियो पैसा, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ च्यानलमा अत्यधिक पैसा थुप्रिएको छ । पैसा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नेका लागि आज बैंकिङ प्रणालीबाट आज निक्षेप संकलन गर्ने भएको छ ।
    केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार आज असार २६ गते राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । उक्त रकम बोलकबोल विधिमार्फत दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ । उक्त निक्षेपको सावा तथा ब्याज असोज २३ गते भुक्तानी हुने विभागले जनाएको छ । बोल कबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    १३. दक्षिण पूर्वबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार

    सरकारले दक्षिण पूर्वबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ । दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहको उद्धार गरेको हो । शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्तालोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको बताउनु भयो । जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, ११३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्याण्डबाट रहेका प्रवक्ता क्षेत्रीको भनाइ छ । राजदुतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको र यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको जानकारी दिनुभयो । 

    १४. जलवायु कार्य र विश्वकपः फुटबलको मैदानबाट ‘नेट जिरो’ को सन्देश

    विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबल र जलवायु परिवर्तनको मुद्दालाई जोड्दै काठमाडौंमा युवाहरूले ‘नेट जिरो’ को सन्देश दिएका छन् । ‘जलवायु कार्य, विश्वकप र युवा सहभागिता’ विषयक उक्त कार्यक्रममा सहभागी युवाहरूले फुटबलको रणनीतिक कौशललाई जलवायु संरक्षणको मैदानमा उतार्दै विश्वका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । प्रकृति रिसोर्सेस सेन्टरद्वारा आयोजित कार्यक्रममा युवाहरूले फुटबलको मैदानमा रहने रक्षापंक्ति, मिडफिल्ड र फरवार्डको भुमिकालाई जलवायु कार्यका सरोकारवालाहरूसँग तुलना गरेका थिए । यसै क्रममा पेरिस सम्झौता र जलवायु कोषहरूबाट अलग रहने अमेरिकी नीतिप्रति लक्षित गर्दै युवाहरूले जिम्मेवारीबाट बाहिरिए पराजय भोग्नुपर्ने सांकेतिक चेतावनी समेत दिएका थिए । 

    १५. उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’

    प्रधानमन्त्री बालेन्द्र साहले उर्जा उत्पादकहरुसँग छलफल गर्नुभएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकास, समस्या र आगामी कार्यदिशाबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उर्जा उत्पादकहरुसँग छलफल गर्नुभएको हो । झन्डै सवा घण्टा चलेको उक्त भेटवार्तामा सरकारको ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको सम्भाव्यता, लगानीको स्रोत, व्यवस्थापन र ऊर्जा क्षेत्रका विद्यमान कानूनी तथा नीतिगत अड्चनबारे विमर्श गरिएको हो । छलफलका क्रममा इप्पानका प्रतिनिधिहरूले ऊर्जा क्षेत्रको विकासका लागि ६ वटा मुख्य बुँदाहरूमा केन्द्रित भई आफ्ना सुझावहरू प्रश्तुत गरेका थिए ।

    १६. असारमा मात्रै ११ प्रतिशत बढी खर्च, एकै दिन ३३ अर्ब १६ करोड खर्च

    नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ३–३ जना अर्थमन्त्रीले बजेट खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएका थिए । जुन बजेट पूर्वअर्थ सचिव समेत रहेका र विज्ञ अर्थमन्त्री रामेश्वर खनालले र त्यसपछि अर्थमन्त्री बनेका अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गरे । तर पनि बजेट खर्च भने १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र रहेको छ । 

    १७. असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    सरकारले असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण शुरु गर्न लागको बताउनुभएको हो । उहाँले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताउनु भयो । नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिव पूरा भएको बताउनु भयो । त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहनसक्ने भएपनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ । नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले सरकारको नीतिअनुरुप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएको बताउनु भयो । 

    १८. १० निर्माण व्यवसायी कालोसूचीमा

    सरकारले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेहरूमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको निर्माण कम्पनी ‘महादेव खिम्ती निर्माण सेवा प्रा.लि.’ लाई ३ वर्षका लागि प्रतिवन्ध लगाइएको छ । सिंहको सोही कम्पनी र सुमित रौनियारको ‘पप्पु कन्स्ट्रक्सन प्रा.लि.’ मिलेर बनेको ‘पप्पु–महादेव जेभी’ लाई पनि हुलाकी राजमार्ग निर्देशनालय, इटहरीको सिफारिसमा ३ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । त्यसैगरी, इटहरी कार्यालयकै सिफारिसमा सुभास श्रेष्ठको ‘श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रा.लि.’ लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । 

    १९. इजिप्टको पहिलो आणविक ऊर्जा केन्द्र सन् २०२८ सम्ममा राष्ट्रिय प्रशारण लाइनमा जोडिने

    इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुलीले देशको पहिलो आणविक ऊर्जा केन्द्रको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको र सन् २०२८ सम्ममा यसको पहिलो रियाक्टर राष्ट्रिय विद्युत प्रशारण लाइनमा जोडिने बताउनुभएको छ । रुसको सरकारी आणविक ऊर्जा निगम (रोसाटोम) का महानिर्देशक एलेक्सी लिखाचेभसँगको भेटका क्रममा प्रधानमन्त्री मदबुलीले सो जानकारी दिनुभएको हो । उक्त ऊर्जा केन्द्रको दोस्रो एकाइका लागि ‘रियाक्टर प्रेसर भेसल’ जडान गर्ने विशेष समारोहका अवसरमा उहाँहरूबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री मदबुलीले ‘एल डाबा’ आणविक ऊर्जा केन्द्रलाई मिस्र र रुसबीचको ऐतिहासिक सहयोगको परिणाम र लामो समयदेखि प्रतीक्षित राष्ट्रिय गौरवको आयोजनाका रूपमा व्याख्या गर्नुभयो । 

    २०. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ७ वर्ष जेल सजाय गर्ने अदालतको अन्तिम फैसला

    दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई पक्राउमा अवरोध पु¥याएको अभियोगमा सात वर्षको कारागार सजाय सुनाउने तल्लो अदालतको फैसलालाई बिहीबार सदर गरेको छ । सर्वोच्च अदालतले युनको मुद्दामा अन्तिम फैसला सुनाउँदै तल्लो अदालतले कानूनी सिद्धान्तहरूको प्रयोगमा कुनै त्रुटि नगरेको ठहर गरेको हो । फैसला सुनाउँदै प्रधानन्यायाधीश ली ह्युङ–गुले भन्नुभयो, ‘तल्लो अदालतको निर्णय नै कायम रहनेछ र विपक्षीका सबै पुनरावेदनहरू खारेज गरिन्छन् ।’सन् २०२४ को डिसेम्बरमा अपदस्थ गरिएका नेता युनले सैन्य शासन (मार्शल ल) घोषणा गरेयता उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको यो पहिलो फैसला हो । यसअघि अप्रिल २९ मा सियोल उच्च अदालतले पक्राउमा अवरोध पु¥याएको मुद्दामा युनको सजाय पाँच वर्षबाट बढाएर सात वर्ष पु¥याएको थियो । युनमाथि लागेको देशद्रोह र अन्य आरोपहरूको अनुसन्धान गरिरहेका स्वतन्त्र काउन्सिल चो युन–सुकको टोलीले शुरुदेखि नै १० वर्षको कैद सजाय माग गर्दै आएको थियो ।

    २१. नेटो शिखर सम्मेलनः अमेरिकी मागका कारण सहयोगी राष्ट्रहरूबीच मतभेद थप गहिरियो

    उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का नेताहरूको दुई दिने शिखर सम्मेलन आपसी एकताको प्रतिवद्धता व्यक्त गर्दै बुधबार टर्कीको राजधानी अंकारामा सम्पन्न भएको छ । रक्षा खर्च र विश्वव्यापी सुरक्षाका मुद्दाहरूमा आन्तरिक विभाजन कायमै रहेका बेला यो सम्मेलन सम्पन्न भएको हो । गठबन्धनले सामूहिक रक्षाप्रतिको आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गर्नुका साथै हतियार खरिदका नयाँ योजनाहरू सार्वजनिक गरेको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगी राष्ट्रहरूलाई सैन्य खर्च वृद्धि गर्न गरेको आह्वानले नेटोभित्रको आन्तरिक मतभेदलाई पुनः सतहमा ल्याएको छ । शिखर सम्मेलनका क्रममा ग्रिनल्याण्ड र इरानसँग सम्बन्धित विषयमा रहेका असहमतिहरूले समेत सम्मेलनलाई छायामा पारेको थियो । 

    २२. भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका

    भारतको पश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षाका कारण फोहोरको विशाल थुप्रो एउटा तीनतले भवनमाथि खस्दा १६ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार बुधवार भएको उक्त दुर्घटनाका बेला भवनभित्र कुल २० जना रहेका थिए । तीमध्ये चार जना भागेर ज्यान जोगाउन सफल भए पनि बाँकी १६ जना कर्मचारीहरू भित्रै फसिरहेको बताइएको छ । घटना लगतै प्रहरी, दमकल विभाग र विपद् व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् । लगातारको वर्षाका कारण फोहोरको थुप्रो खुकुलो भई भवनमाथि खसेको प्रारम्भिक अनुमान गरिएको छ । भारतमा मनसुन शुरु भएसँगै विगत केही दिनदेखि महाराष्ट्रका पुणे र मुम्बई लगायतका क्षेत्रमा भइरहेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । 

    २३. भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमानः जुन महिनामै औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुग्यो

    स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुन्द्री सतहको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । जुन महिनाको अन्त्यमा यहाँको औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा बढी हो । स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुन्द्री पानी सबैभन्दा तातो हुने गर्दछ । तर यस वर्ष जुन महिनामै देखिएको यो तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेको छ । गत बुधवार स्पेनको भूमध्यसागरीय तटमा पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियसको बीचमा रेकर्ड गरिएको थियो । एजेन्सीको पूर्वानुमान अनुसार क्याटालोनिया र अन्डालुसिया बीचका अधिकांश पर्यटकीय तटहरूमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, बेलियारिक टापु समूहमा भने पानीको तापक्रम २९ डिग्री सेल्सियससम्म मापन गरिएको छ । 

    २४. साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर

    साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउद र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच बिहीबार जेद्दामा उच्चस्तरीय भेटवार्ता भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्धको समीक्षा र क्षेत्रीय विकासका विविध आयामबारे छलफल हुनुका साथै विभिन्न क्षेत्रमा सहयोग विस्तारका लागि समझदारी पत्र आदानप्रदान गरिएको छ । दुई देशबीच भएका समझदारीहरूमा ऊर्जा क्षेत्रमा सहयोग, ‘साउदी–क्यानडा समन्वय परिषद्’ को स्थापना, र कृत्रिम बौद्धिकतामा लगानी तथा सीप विकास सम्बन्धी सम्झौताहरू समावेश रहेका छन् । यसै क्रममा बिहीवार नै जेद्दामा ‘साउदी–क्यानडा लगानी मञ्च’ समेत आयोजना गरिएको थियो । उक्त मञ्चमा दुवै देशका सरकारी निकाय, निजी कम्पनी र संस्थाहरूबीच थप १५ वटा समझदारी पत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । 

    २५. ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग र संघीय शासन प्रणालीलाई दृष्टिगत गर्दै पुस्तकालय नीतिलाई समयानुकूल बनाउनुपर्छ’

    राष्ट्रिय सभाका सांसदहरुले बदलिँदो प्रविधि, सामाजिक सञ्जालको बढ्दो प्रयोग र संघीय शासन प्रणालीलाई दृष्टिगत गर्दै पुस्तकालय नीतिलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रश्तावित पुस्तकालय नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले सामाजिक सञ्जाललाई समेत पुस्तकालयको विकलल्का रूपमा लिन थालिएको वर्तमान अवस्थामा भौतिक र ई–पुस्तकालयबीच सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको बताउनु भयो । 

    २६. आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन

    काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्युभएपछि उनका आफन्तसहितले विर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । रोल...
    बिहीवार राहदानी विभागअगाडि बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । पछि उनलाई प्रहरीले वीर अस्पताल पु¥याएको थियो । भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रवार बिहान चिकित्सकले मृत घोषणा गरेको थियो । उनको मृत्युपछि आफन्तहरुले राज्यको लापरबाहीको कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले कीर्तिपुरस्थित बर्न अस्पताल लग्नुको सट्टा वीर अस्पतालमा भर्ना गरेर मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

    २७. जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन

    विपन्न समुदायलाई लक्षित गरी लागु भएको जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण भएको गरिसकेको जनाएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले यस्तो जानकारी गराउनुभएको हो । उहाँकाअनुसार हाल ८ हजार ३ सय ५९ आवासहरु निर्माणाधीन अवस्थामा रहेको छ । उहाँले जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ५५ हजार ९ सय ७० आवास स्वीकृत भएको समेत बताउनु भयो । मन्त्री वादीकाअनुसार प्रदेशगत रूपमा कोशीमा ५ हजार ४ सय १६ आवास हस्तान्तरण भई ६ सय ५७ निर्माणाधीन रहेका छन् । उहाँले मधेशमा १५ हजार ५सय ३४ आवास हस्तान्तरण हुँदा ५ हजार २४८ निर्माणाधीन रहेको बताउनु भयो ।

    २८. यो सरकार राष्ट्रको सम्पती र इतिहास जलाएर आएको राक्षसी सरकार होः सांसद बिष्ट

    नेपाल कम्युनिष्ट पार्टीका सांसद नरबहादुर बिष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले सरकारले सुकुम्बासी, दलित, मधेशी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारलाई राष्ट्रको सम्पती र इतिहास जलाएर आएको राक्षसी सरकारको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार, सुकुम्बासी, दलित, मधेसी र गरिबमारा सरकार हो । यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई । जसले राष्ट्रको सम्पती जलायो, देशको इतिहास जलायो । 

    २९. राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम

    प्रतिनिधि सभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । शुक्रवारको सभाको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा विधेयमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दलको व्यवस्था युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले नल्याइएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले राष्ट्रिय आवश्यकता ठानेर निर्णय गरेपछि मात्रै सेवा दलमार्फत तालिम सञ्चालन गरिने बताउनु भयो । उहाँले राष्ट्रिय आवश्यकताका आधारमा मन्त्रिपरिषद्बाट निर्णय गरेर तामिलका कार्यक्रम अगाडि बढाइने बताउनु भयो । सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रणलगायतका क्षेत्रमा नागरिकको परिचालन हुनसक्ने उहाँको भनाइ छ ।

    ३०. वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन गर्दै सरकार

    सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे नेपाल बीमा प्राधिकरणबाट अध्ययन भइरहेको जानकारी दिनुभएको हो । उहाँले मध्यवर्ती क्षेत्रभित्र वन क्षेत्र र महत्वपूर्ण जलीय इकोसिस्टम बाहेकका नदीबाट वातावरणीय अध्ययनका आधारमा स्थानीय तहलाई नदीजन्य पदार्थ संकलन तथा विक्री–वितरण गर्न सक्ने व्यवस्था गर्न कानून संशोधनको प्रश्ताव गरिएको समेत बताउनु भयो । उहाँले मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजनका लागि पहल भइरहेको समेत जानकारी दिनुभयो ।

    ३१. संवैधानिक आयोगका सिफारिस एवं वार्षिक प्रतिवेदनहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्धः मन्त्री गौतम

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक आयोगका सिफारिस एवं वार्षिक प्रतिवेदनहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । रोल...
    राष्ट्रिय सभाको शुक्रवारको बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जावफ दिँदै मन्त्री गौतमले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न संवैधानिक आयोगहरुले गरेका सिफारिस एवं वार्षिक प्रतिवेदनहरुको अध्यययन गर्ने कार्य भइरहेको समेत बताउनु भयो । उहाँले आयोगका केही सिफारिसहरु कार्यान्वयनको लागि आवश्यक कानून बनाउनुपर्ने तथा केही व्यवहारिक सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसमा सरकार गम्भीर रहेको बताउनु भयो ।

    ३२. हरेक वडा र स्थानीय तहमा सार्वजनिक पुस्तकालय अनिवार्य स्थापना गर्न प्रस्ताव

    पुस्तकालयविद् हिरेन्द्रबहादुर शाहीले सिंहदरबारभित्र ‘सिंहदरबार पुस्तकालय’ निर्माण गर्न प्रश्ताव गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा प्रश्तुत गर्दै उहाँले सिंहदरबारभित्र एकीकृत सुविधा सम्पन्न पुस्तकालय निर्माणको प्रश्ताव गर्नुभएको हो । उहाँले संस्कृति लगायत विषयगत पुस्तकालयलाई केन्द्रीय विषयगत पुस्तकालयका रूपमा विकास गर्ने, शैक्षिक संस्था तथा विश्वविद्यालयलाई आफ्नै पुस्तकालय कार्यविधि बनाउन स्वतन्त्रता दिने तथा संघीय संरचनाअनुसार प्रत्यके वडाहरुमा अनिवार्य रुपमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने प्रश्ताव समेत गर्नुभएको छ । 

    ३३. गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा

    प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भुमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मोटरसाईकल पार्किङ गरेर राखेवापत कडा जरिवानी असुली गर्दा उहाँले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताउनुभएको हो । सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भिर नभएको यस्तो नागरिकले आत्माहत्याको बाटो रोज्नुपर्ने अवस्था आएको आरोप पनि लगाउनु भयो । उहाँले उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

    ३४. गणेश नेपालीको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकि नराखोस्ः सभापति खड्का

    सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको जीवन रक्षाका लागि कुनै कसर बाँकि नराख्न सरकारसँग आग्रह गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा सञ्चारकर्मीमाझ उहाँले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेको घटनामा जटिल अवस्थामा वीर अस्पतालमा उपचाररत उनको जीवनको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभएको हो । उहाँले उनको विदेशमा लगेर भएपनि जीवन बचाउनका लागि सबै खालको शक्ति परिचालन गर्नुपर्ने बताउनु भयो । बिहीवार त्रिपुरेश्वरमा सरकारको पक्षबाट महानगर प्रहरीले बाइकमा ह्विल लक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । सभापति खडकाले सरकारले यस्तो घटना अब आइन्दा हुन नदिन पनि गम्भिर भएर सोच्न सरकार र संवद्ध सबै पक्षलाई सचेत गराउनु भयो । उहाँले नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

    ३५. ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ

    प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिव नागरिकले मर्नुपर्ने अवस्था आएको जिकीर समेत गर्नुभयो । नेता शाहीले गरिव, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी समेत गर्नुभयो । उहाँले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताउनु भयो ।

    ३६. निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

    निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१÷८२ प्रतिनिधि सभामा पेश गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी बैठकमा उहाँले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१÷८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१÷८२ पनि क्रमशः पेश गर्नुभयो । संवैधानिक अंग वा निकायहरुको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

    ३७. प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ?

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एक जना युवाले पेट्रोल छर्केर आत्मादाह गर्दा पनि किन मौनता साँधेको ? भनेर प्रधानमन्त्री साहलाई प्रश्न पनि गर्नुभयो । प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण नेपालीले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप समेत लगाउनु भयो । एउटा नागरिकले आफनो शरीरमा  आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको प्रमुख सचेतक थापाले गुनासो गर्नुभयो ।

    ३८. राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण

    राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । शुक्रवार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पती शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक २०८३  प्रमाणिकरण गर्नु भएको जानकारी सांसदहरुलाई गराउनुभएको हो । सभामुख अर्यालले भन्नुभयो,‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मितिः २०८३÷३÷२५ । सम्पत्ति शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ । प्रमाणिकरण मितिः २०८३÷३÷२५ । सहकारी (पहिलो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मितिः २०८३÷३÷२५ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ ।

    ३९. विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः मलाई कुनै स्टन्टबाजी गर्ने इच्छा छैन, देशको सेवा गर्न आएको हुँ

    गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताउनुभएको छ । गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्टममा समय लिएर पुग्नुभएका उहाँले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनि विपक्ष दलका सांसदहरुलाई प्रश्न पनि गर्नुभयो । ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो । उहाँले आफूहरुले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरुले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनैपनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताउनु भयो । आफूहरु देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गहृमन्त्री गुरुङको दाबी थियो ।

    ४०. सरकार चरम असफलतातर्फ उन्मुख भयोः वर्षमान पुन

    प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्नु भएको छ । गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रुपमा पेश गर्दै उहाँले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गर्नुभएको हो । नेता पुनले संसद भवन अगाडि पे्रमे आश्चार्यको आत्मदाहसम्बन्धि घटनाको स्मरण गराउँदै आफूले उक्त घटनालाई राज्यको चरम असफलता हो भनि गरेको टिप्पणी समेत प्रधानमन्त्री बालेन्द्र साहलाई स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री साहलाई गरिव, दुःखी र विपन्न नागरिकले बाँच्न नपाउने हो ? भनि सरकारलाई सरकारलाई प्रश्न समेत गर्नुभयो ।

    ४१. सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल

    श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुंगा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले जनप्रतिनिधिहरुको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाउनु भयो । सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरुको माग समेत अझै सुनुवाई हुन नसकेको गुनासो समेत गर्नुभयो । सांसद रम्तेलले भन्नुभयो,‘नेपालीमा एउटा उखान छ–ढुंगालाई जति पानी खन्याए पनि त्यो गल्दैन । तर लोकतन्त्रमा सरकार ढुंगाजस्तो मौन हुन मिल्दैन । संसदमा उठेका जनप्रतिनिधिका आवाज सुन्नु सरकारको दायित्व र जवाफदिनु सम्वैधानिक जिम्मेवारी हो । यही विषयमा हामीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ । 

    ४२. सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक

    प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद विकले सरकारको घमण्ड र अराजकताका कारण गरिव नागरिकहरुले मर्नुपरेको जटिल अवस्थामा मुलुकमा आएको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले गरिव नागरिकलाई जीँउँदै मर्नुपर्ने बाध्यात्मक अवस्था बनाईरहे नेपाली जनताले त्यसको प्रतिवाद गरेर अघि बढ्ने चेतावनी समेत गर्नुभयो ।

    ४३. सरकारले सय दिन वितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली

    प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताउनु भयो । उहाँले वर्तमान सरकारले युवाहरुलाई देशमा बसेर केही गर्ने वातावरण समेत बनाउन नसकेको गुनासो गर्नुभयो । गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरुलाई पनि देश भित्रै केही गर्न सकिन्छ भन्नेकुरामा आशा जगाउन नसकेको बताउनु भयो ।

    ४४. फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा फुटपाथ तथा सडक पूर्वाधार निर्माणमा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताउनु भयो । उहाँले सडक निर्माणको क्रममा फुटपाथलाई प्राथमिकता नदिइएको तथा फुटपाथ भएपनि सबै प्रकारका क्षमाता भएका नागरिकलाई सहज रुपमा हिँड्न मिल्ने गरी नबनाइएको बताउनु भयो । – न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १९:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij