२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साताका लागि प्रभावित हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षको सुरुवातमा पुराना मुद्दाहरूको लगत सार्ने प्रयोजनका लागि नियमित सुनुवाइ रोक्ने स्थापित अभ्यास अनुसार यस वर्ष पनि सुनुवाइ स्थगित गर्न लागिएको हो।
सर्वोच्च अदालत प्रशासनका अनुसार, यो पटक साउन १ गतेदेखि साउन १० गतेसम्म नियमित मुद्दाको सुनुवाइ रोकिने छ भने साउन ११ गतेदेखि मात्रै नियमित सुनुवाइ सुचारु हुने भएको छ। नियमित सुनुवाइ ११ दिनका लागि अवरुद्ध हुने भए पनि नागरिकको व्यक्तिगत स्वतन्त्रतासँग जोडिएका बन्दी प्रत्यक्षीकरणका मुद्दाहरूको सुनुवाइ भने निरन्तर जारी रहने सर्वोच्च अदालतले जनाएको छ।
त्यसैगरी, केही अन्य आवश्यक र जरुरी निवेदनहरूमाथि पनि यस अवधिमा सुनुवाइ हुनसक्ने प्रशासनले उल्लेख गरेको छ। विगतका वर्षहरूमा नयाँ आर्थिक वर्षको लगत सार्नका लागि दुई साता (१४ दिन) सम्म नियमित सुनुवाइ रोकिने गरेको थियो। तर, यस पटक भने उक्त अवधिलाई छोट्याएर ११ दिन मात्र तय गरिएको अदालतले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij