२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको पूर्वाधार विकास र निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गरे।
विकास निर्माणका कामहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उनले यसका लागि सबै पक्षको सक्रिय सहकार्य अपरिहार्य रहेको बताए।छलफलमा निर्माण व्यवसायीहरूले हाल निर्माण क्षेत्रले भोग्दै आएका मुख्य चुनौतीहरूका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनीहरूले मुख्यगरी भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याहरू उठान गरेका थिए। साथै, संकटमा रहेको निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबिचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यवसायीहरूले राखे।
उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेको सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij