२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभामा गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई आफ्नो विशेषाधिकार प्रयोग गर्न सुझाव दिएको छ ।
बैठकमा अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनेदेखि सांसदलाई बैठकबाट निष्कासन गर्नेसम्मका नियमहरू दृढतापूर्वक कार्यान्वयन गर्न समितिले सिफारिस गरेको हो। समितिले बुझाएको प्रतिवेदनमा सांसदहरूले पालना गर्नुपर्ने आचारसंहिता र नियमहरूको पूर्ण परिपालना गराउन स्वयं सांसद, सङ्घीय संसद् सचिवालय र सभामुखले गम्भीरता देखाउनुपर्ने उल्लेख छ।
जेठ १७ को घटनापछि सभामुख अर्यालले जेठ १८ गते प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा बबिता मिश्र र गोपाल सिग्देल सदस्य रहेको छानबिन समिति गठन गरेका थिए। समितिले स्थलगत मुचुल्का, श्रव्यदृश्य प्रमाण र प्रत्यक्षदर्शीको बयानका आधारमा प्रतिवेदन तयार पारेको हो। समितिले संसद्को गरिमा बढाउन दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने, सीसीटीभी निगरानी चुस्त राख्नुपर्ने, र आचरण अनुगमन समितिलाई सक्रिय बनाउनुपर्ने सुझाव दिएको छ।
यसका साथै संसद् सचिवालयको प्रविधि सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण गर्नुपर्ने विषयमा समेत प्रतिवेदनले जोड दिएको छ। जेठ २५ गते नै प्रारम्भिक प्रतिवेदन बुझाएको समितिले कार्यव्यवस्था परामर्श समितिको सक्रियता बढाउन समेत आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij