२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)प्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् । उनले बिहीबार बिहान प्रधानमन्त्री शाहलाई 'संसारकै नालायक प्रधानमन्त्री'को संज्ञा दिएका छन् । प्रधानमन्त्री शाह जनता र संसद्प्रति जवाफदेही हुन नसकेको उनको आरोप छ ।
अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाह सदनमा आएर जनताको प्रश्नको सामना गर्न नसक्ने र उत्तर दिन आवश्यक समेत नठान्ने गरेको दाबी गरेका छन्। 'आफूलाई सार्वभौम संसद् भन्दा ठुलो सम्झन्छन्,' साम्पाङले लेखेका छन्, 'जनता र लोकतन्त्रको पक्षमा बोल्दा गाली खाने देशमा अन्धभक्त र चम्चाहरूले यो खाले प्रधानमन्त्रीको जन्म गराएका हुन् । दोष प्रधानमन्त्रीको कि उनलाई प्रधानमन्त्री बनाउने जनता र अन्ध समर्थकको? त्यो इतिहासले मूल्याङ्कन गर्ने नै छ।'
मुलुकमा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू छाती पिटीपिटी रुँदा र आत्महत्या गर्दासमेत प्रधानमन्त्रीलाई स्याबासी र धन्यवाद दिने समर्थकहरूको विवेक गुमेको टिप्पणी साम्पाङको छ। विवेक गुमेपछि मान्छे र पशु वा निर्जीव वस्तुमा केही फरक नहुने भन्दै उनले समर्थकहरूले एक दिन देश नै लिलाम गर्दा पनि अनुमोदन गर्ने खतरा औंल्याएका छन्। नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिने प्रधानमन्त्रीको पुष्टि गर्दै नेपालले उल्टै फर्काउनु पर्ने जमिन खोजी हिँडेको भन्दै उनले प्रधानमन्त्रीको राष्ट्रियता सम्बन्धी अभिव्यक्तिको पनि आलोचना गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकाले नै आफूले खबरदारी र विरोध गरेको साम्पाङले प्रष्ट पारेका छन्। लोकतन्त्र नै जनताको शासन भएको र विधि नमानी लोकतन्त्र नरहने भन्दै उनले विधि मान्ने पहिलो जिम्मेवारी प्रधानमन्त्रीकै भए पनि उनको पारा 'विधि न सिदी'को जस्तो रहेको आरोप लगाएका छन्। 'बालेनको विरोध गर्छ भन्नेहरूले बुझ्नुपर्ने के हो भने बालेनले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन्, त्यसैले हो खबरदारी र विरोध मेरो,' साम्पाङले भनेका छन्।
यसैबिच, साम्पाङले आफूलाई आयरल्यान्डको संसदीय मैत्री सम्बन्धको संयोजन गर्ने जिम्मेवारी दिइएको जानकारी गराएका छन्। सो जिम्मेवारी पाएपछि आफूले सबैभन्दा पहिले आयरल्यान्डका कार्यकारी प्रमुख संसद्प्रति जवाफदेही छन् कि त्यहाँ पनि 'बालेनजी कै काइदा' छ भनेर सोध्ने बताएका छन्। त्यहाँबाट आउने जवाफ आफूले साभार गर्ने उल्लेख गर्दै उनले दुनियाँमा कहीँ नभएको निरंकुश अभ्यास नेपालमा भइरहेको र यस्तो निरंकुशताभित्र लोकतन्त्रको टाँचा देखाएर सुशासनको कल्पना गर्नु सर्वथा गलत भएको ठहर गरेका छन्। आफ्नो प्रहारको अन्त्यमा साम्पाङले आफ्नै चर्चित थेगो प्रयोग गर्दै लेखेका छन्, 'जसले जे भनोस् तर हामी यस्तै त हो नि हो ब्रो।'

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij