२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने भएको छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनु पर्ने भनिएको छ ।
सेवा सञ्चालन गर्न चाहने संस्थाले कार्य सञ्चालन गर्नुपूर्व शिक्षा मन्त्रालयमा अनुमतिका लागि निवेदन दिनु पर्नेछ । निवेदनका सम्बन्धमा मन्त्रालयले अधिकृतद्वारा जाँचबुझ गराउन सक्नेछ । र, निवेदनका बेहोरा मनासिव देखिएमा धरौटी राख्न लगाई तीन महिनाभित्र शैक्षिक परामर्श सेवाको कार्य प्रारम्भ गर्ने गरी अनुमति प्रदान गरिने छ । शैक्षिक परामर्श सेवाको लागि धरौटी रकम २५ लाख र शाखा थपमा पनि २५ लाख नै राख्नु पर्ने भनिएको छ ।
अनुमतिपत्र प्राप्त संस्थाले प्रचलित कम्पनी कानुनबमोजिम शाखा विस्तार गरेमा त्यस्तो विस्तार भएको शाखाबाट सेवा सञ्चालन गर्न निवेदन दिनु पर्नेछ । परामर्श संस्थाको अनुमति दस्तुर ५० हजार र शाखा विस्तार भएमा प्रति शाखा २० हजार तोकिएको छ । नवीकरण दस्तुर ५० हजार शाखा विस्तार भएमा २० हजार तोकिएको छ ।
त्यसैगरी, पूर्वतयारी कक्षाको धरौटी शुल्क १ लाख, अनुमति दस्तुर १० हजार र नवीकरण दस्तुर ५ हजार कायम गरिएको छ । भाषा परीक्षणको धरौटी रकम ५ लाख, अनुमति दस्तुर १५ हजार र नवीकरण दस्तुर ५ हजार राखिएको छ । भाषा शिक्षण सेवाको धरौटी रकम १ लाख, अनुमति दस्तुर १० हजार र नवीकरण दस्तुर ५ हजार कायम गरिएको छ ।
शैक्षिक मेला, प्रदर्शनी र सेमिनारको अनुमतिका लागि शुल्क तोकिएको छ । नगरपालिकामा २५ हजार र गाउँपालिकाको लागि मेला आयोजना गर्न १० हजार तोकिएको छ । विदेशी आयोजक भएमा शैक्षिक मेला, प्रदर्शनी र सेमिनार गर्न यूएस डलर १ हजार ५०० कायम गरिएको छ । कुनै व्यक्ति वा संस्थाले कुनै स्थानमा शैक्षिक मेला वा शैक्षिक प्रदर्शनी वा शैक्षिक सेमिनार वा प्रतिनिधि भेटघाट सञ्चालन गर्नुअघि मन्त्रालयबाट स्वीकृति लिनु पर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij