२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा र सो सम्बन्धी राष्ट्रिय सहमतिलाई प्रधानमन्त्री बालेन्द्र शाहले लत्त्याउन नमिल्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद तामाङले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्र हित विपरीत र तथ्यहीन भएको आरोप लगाए।"२०७७ जेठ ७ गते संसद्बाट सर्वसम्मत पास भएको नक्सा र राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन," १८१६ को सुगौली सन्धिको इतिहास कोट्याउँदै तामाङले भने, "यो अभिव्यक्ति आपत्तिजनक छ, यसले हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठाएको छ।" लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको आधिकारिक नक्सामा समेटिइसकेको अवस्थामा प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिनु गम्भीर त्रुटि भएको उनको तर्क थियो।
प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिका कारण मुलुकमा गम्भीर संकट र अन्योल सिर्जना भएको बताउँदै तामाङले सुकुमबासी बस्तीबाट विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेकी सबिना कार्कीको मर्मस्पर्शी अवस्था समेत सदनमा सुनाए।"सबिना कार्कीले खाना र बस्नको ठेगान नभएपछि १ लिटर पेट्रोल बोकेर बसेको छु भन्दा बडो टेन्सन भयो। हाम्रा नागरिक यस्तो अवस्थामा पुग्नु राज्यका लागि लाजमर्दो विषय हो," उनले भने। सांसद तामाङले विस्थापित सुकुमबासीहरूका लागि तत्काल गाँस र बासको उचित व्यवस्था गर्न सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij