२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी प्रयोग गरिएका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा नियमापत्ति जनाउँदै उनले प्रतिपक्षी दलका नेताहरूको व्यवहार र शब्द चयनप्रति कडा आपत्ति जनाइन्।बैठकमा एमाले सांसद राजेन्द्र राईले बोल्ने क्रममा सभामुख डोलप्रसाद अर्याललाई ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न’ भनी प्रश्न गरेपछि सांसद सङ्ग्रौलाले नियमापत्ति जनाएकी थिइन्।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘ख’ को व्यवस्था स्मरण गराउँदै भनिन्, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ। तर, यहाँ जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्दै प्रश्न गरिन्छ, यो कस्तो नियत हो रु’उनले प्रतिपक्षी बेन्चका नेताहरूलाई चुनौती दिँदै त्यस्तो अमर्यादित भाषाको अर्थ र आधार प्रस्ट पार्न समेत माग गरिन्। सभामुखको ध्यानाकर्षण गराउँदै सांसद सङ्ग्रौलाले सदनसमक्ष दुई वटा विकल्प प्रस्तुत गरिन्।
‘सभामुखलाई सोधिएको कान सुन्नुहुन्छ कि हुँदैन भन्ने शब्द या त संसद्को रेकर्डबाट तत्काल हटाइयोस्,’ उनले भनिन्, ‘यदि हटाइँदैन भने त्यसलाई जस्ताको तस्तै राखियोस्, ताकि भोलिको पुस्ता र इतिहासले हेरोस् कि प्रतिपक्षी बेन्चमा हामीले कस्ता–कस्ता दिग्गज सांसदहरू पठाएका थियौँ।’सङ्ग्रौलाको यो नियमापत्ति र कडा प्रहारपछि संसद्मा प्रतिपक्षी र सत्तापक्षबीचको वादविवाद थप रोचक बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij