Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गुल्मीमा गुणस्तरहीन ४०० केजी मह नष्ट

गुल्मीमा गुणस्तरहीन ४०० केजी मह नष्ट


  • 974
    Shares

    गुल्मीमा गुणस्तरहीन ४०० केजी मह नष्ट
    images

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ ।  

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका-८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले उक्त स्थानबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय, तानसेन, पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

    गुणस्तरहीन पुष्टि भएको उक्त महजस्तो देखिने पदार्थ जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, पत्रकार तथा उद्योग वाणिज्य संघ गुल्मीका प्रतिनिधिहरूको रोहवरमा जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरभित्र खाडल खनी नष्ट गरिएको हो ।

    प्रहरीले खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरहीन तथा अखाद्य सामग्रीको बिक्री–वितरण रोक्न नियमित निगरानी र सूचनाका आधारमा कारबाहीलाई निरन्तरता दिने जनाएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने वस्तुको उत्पादन, ओसारपसार तथा बिक्री–वितरणमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १०:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij