२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । कार्यालयभित्रै सेवाग्राहीमाथि हातपात गर्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ। कार्यकक्षमै सेवाग्राहीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई सर्वत्र आलोचना भएपछि श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई पदबाट हटाएर मन्त्रालय तानेको हो।
मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो। उनको स्थानमा तत्कालका लागि बारा यातायात व्यवस्था कार्यालयकै अधिकृत रामस्वार्थ महतोलाई नयाँ जिम्मेवारी दिएर पठाइएको छ।
घटनाबारे प्रहरीले आफ्नो तर्फबाट कानुनी अनुसन्धान अगाडि बढाएको छ। धनुषा प्रहरीको सहयोगमा बारा प्रहरीले आचार्यलाई सोधपुछका लागि कार्यालयमा झिकाएको छ। हाल उनलाई औपचारिक रूपमा नियन्त्रणमा नलिए पनि कार्यालयमा बोलाएर घटनाको वास्तविकता र कारणबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा गत फागुनको तेस्रो सातातिर निमित्त प्रमुख आचार्यले आफ्नै कार्यकक्षमा सेवाग्राहीमाथि कुटपिट गरेको खुलेको छ। त्यसमा कार्यालयका चौकीदारको पनि संलग्नता देखिएको अनुसन्धानमा खुलेको छ । घटनाका हुँदा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुईजना प्रहरी पनि घटनास्थलमै थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij