२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताबिरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषा प्रहरीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ।
धनुषास्थित एक निजी स्वास्थ्य संस्थामा कार्यरत हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्वास्थ्यकर्मीहरूको सेवा सुविधा बढाउनुपर्ने माग गर्दै अधिकारीले मन्त्रीको राजीनामा मागेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले गत शनिबार स्वास्थ्यमन्त्री मेहताको तस्बिरमा रातो मसीले क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ उल्लेख गरेर फेसबुकमा पोस्ट सार्वजनिक गरेका थिए।
सोही पोस्टलाई लिएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपेश खड्काका अनुसार स्वास्थ्यकर्मी अधिकारीलाई सामान्य सोधपुछ गरेर रिहा गरिएको छ। हामीले उनलाई बोलाएका थियौँ, सामान्य सोधपुछ गरेर रिहा गरिसकिएको छ,ू एसपी खड्काले भने।
अधिकारीले स्वास्थ्य क्षेत्रको मात्र नभई आफू कार्यरत निजी स्वास्थ्य संस्थामा समेत कर्मचारीहरूको तलब र सेवा सुविधा वृद्धि गर्नुपर्ने माग निरन्तर उठाउँदै आएका थिए। मन्त्रीविरुद्धको टिप्पणीपछि प्रहरीले लिएको एक्सन र त्यसपछिको रिहाइलाई लिएर स्थानीय स्वास्थ्यकर्मीहरू माझ चर्चा चुलिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij