Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

झापा तस्करी काण्डमा गृहमन्त्रीको कडा एक्सन: दुई डीएसपी र दुई हवल्दारको मोबाइल जफत

झापा तस्करी काण्डमा गृहमन्त्रीको कडा एक्सन: दुई डीएसपी र दुई हवल्दारको मोबाइल जफत


  • 1.7K
    Shares

    झापा तस्करी काण्डमा गृहमन्त्रीको कडा एक्सन: दुई डीएसपी र दुई हवल्दारको मोबाइल जफत
    images

    काठमाडौं । झापाको पूर्वी नाका काँकडभिट्टा र मेची भन्सार कार्यालय क्षेत्रमा सुरक्षाकर्मीकै ‘सेटिङ’ मा संगठित तस्करी हुने गरेको खुलासा भएको छ। सीमा क्षेत्रको अनुगमनका लागि आइतबार काँकडभिट्टा पुगेका गृहमन्त्री सुधन गुरुङसमक्ष स्थानीय एक महिलाले सार्वजनिक स्थलमै तस्करीको सञ्जालबारे प्रमाणसहित गुनासो गरेपछि सीमा क्षेत्रमा खलबली मच्चिएको हो।  

    काँकडभिट्टाकी स्थानीय व्यवसायी बन्दना मेचेले गृहमन्त्रीकै अगाडि उभिएर सुरक्षा निकायका ‘घुमुवा’ (सादा पोसाकका प्रहरी) हरूले मासिक रूपमा मोटो रकम असुल्ने गरेको गम्भीर आरोप लगाइन्। उनले पैसा नदिने साना व्यापारीलाई प्रहरीले दुःख दिने तर मोटो रकम बुझाउने ठूला तस्करहरूका सामानलाई भने स्कर्टिङ गरेर सुरक्षित रूपमा भित्र्याउने गरेको नाङ्गो सत्य मन्त्रीसामु पोखिन् । 

    गृहमन्त्री गुरुङलाई प्रश्न गर्दै मेचेले आक्रोशित मुद्रामा भनिन्, “हामी जस्ता साना व्यापारीले जीविकोपार्जनका लागि ल्याएको १०–२० किलो चिनी र कपडा प्रहरीले बाटोमै समात्छ। तर सेटिङ मिलाएर आउने करोडौँका अवैध सामान बोकेका काला गाडीहरूलाई भने स्यालुट ठोकेर छोडिन्छ। मन्त्रीज्यू, यो कस्तो प्रशासन होरु” उनले तस्करीको सेटिङमा प्रत्यक्ष संलग्न रहेका केही प्रहरी कर्मचारीहरूको नाम समेत किटेरै गृहमन्त्रीलाई बुझाएकी छिन्। 

    सार्वजनिक रूपमै सुरक्षा संयन्त्रको बदमासी उजागर भएपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै कडा एक्सन लिएका छन्। मेची भन्सार कार्यालयको निरीक्षण गर्ने क्रममा मन्त्री गुरुङले प्रशासनिक कमजोरी र चलखेलको आशंका गर्दै प्रमुख जिल्ला अधिकारी ९सीडीओ० शिवराम गेलाल र मेची भन्सार प्रमुख शिवलाल न्यौपानेलगायतका अन्य गैर-सैन्य प्रशासनिक अधिकारीहरूलाई कार्यकक्ष बाहिरै राख्न निर्देशन दिएका थिए। 

    त्यसपछि मन्त्री गुरुङले सुरक्षा निकायका कमाण्डर तथा उच्च अधिकारीहरूलाई मात्रै बन्द कोठाभित्र राखेर तस्करीको लाइन र संलग्न प्रहरीबारे लामो समय केरकार तथा छानबिन गरेका छन्। दोषी देखिएका सुरक्षाकर्मीमाथि तत्काल विभागीय कारबाही अघि बढाउन समेत मन्त्रीले निर्देशन दिएका छन्।

    बन्द कोठाभित्रको छलफलका क्रममा गृहमन्त्री गुरुङले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरी बलका डीएसपी विकास थापालाई आफ्ना मोबाइल फोनहरू तत्काल टेबुलमा राख्न निर्देशन दिएका थिए। सुरक्षा स्रोतका अनुसार दुवै डीएसपीका मोबाइल फोनहरू अनुसन्धानका लागि मन्त्रीको निर्देशनमा तत्काल नियन्त्रणमा लिइएको छ। ती मोबाइलहरूमा रहेका कल डिटेल ह्वाट्सएप च्याट र तस्करहरूसँग भएका सम्भावित संवादहरूको सुक्ष्म विश्लेषणका लागि तत्काल ‘फरेन्सिक ल्याब’ पठाउन गृहमन्त्रीले निर्देशन दिएका छन्।

    यसैगरी, मेची नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरसिमल चेकपोष्टमा खटिएका वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनालको मोबाइल समेत जफत गरिएको स्रोतले दाबी गरेको छ। उनीहरूले तस्करहरूसँग सिधै सम्पर्क राख्ने र सीमा नाकाबाट कुन समयमा कुन गाडी छिराउने भन्ने निर्णय गर्ने गरेको गम्भीर आरोप लागेको छ।

    स्थानीय व्यवसायी बन्दना मेचेले गृहमन्त्रीकै अगाडि उभिएर साना व्यापारीको चिनी-कपडा समात्ने तर सेटिङमा आउने तस्करका गाडीलाई प्रहरीले स्यालुट ठोकेर छोड्ने गरेको भन्दै केही प्रहरीको नामै किटेर गुनासो गरेकी थिइन्। सोही गुनासोका आधारमा गृहमन्त्रीले चालेको यो आकस्मिक र कठोर कदमले सीमा क्षेत्रका सुरक्षा संयन्त्र र तस्कर समूहमा ठूलो खलबली मच्चिएको छ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १४:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij