२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मन्त्री लम्सालले कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उनले स्थलगत अध्ययनपछि आवश्यकता अनुसार थप पुलहरू निर्माण गरिने बताएका छन् ।
मन्त्री लम्सालले भने, ‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ । यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम शुरु गरिनेछ । पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिव २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ ।’
उनले मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पु¥याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिएका छन् । सडक दुर्घटना न्युनिकरणका लागि सडकको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij