Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद्का चार विषयगत समितिको बैठक बस्दै

संसद्का चार विषयगत समितिको बैठक बस्दै


  • 1.5K
    Shares

    संसद्का चार विषयगत समितिको बैठक बस्दै
    images

    काठमाडौं । सङ्‌घीय संसद्का चारवटा विषयगत समितिको बैठक मंगलबार बस्दैछ। 

    प्रतिनिधि सभाका विभिन्न समितिहरूले समसामयिक विषय, विधेयक तथा मन्त्रालयका कामकारबाहीबारे छलफल गर्न बैठक बोलाएका हुन्।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सातौँ बैठक मंगलबार बिहान ९;३० बजे सिंहदरबारमा बस्ने भएको छ। समिति सचिव निर्मलादेवी लामिछाने ‘वस्ती’ का अनुसार उक्त बैठकमा माननीय परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री र परराष्ट्र सचिवलाई आमन्त्रण गरिएको छ।

    यसैगरी, सार्वजनिक लेखा समितिको आठौँ बैठक पनि बिहान ९:०० बजे बस्ने तय भएको छ। उपसचिव सुशीला आचार्यका अनुसार बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मंगलबार बिहान ९:०० बजे बस्ने भएको छ। शाखा अधिकृत बिनिता मरासिनी पन्थीका अनुसार उक्त बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ‘स्थापना र सञ्चालन’ विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ।

    यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २:०० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ। उक्त बैठकमा राष्ट्रिय महिला आयोगको कामकारवाही तथा प्रगतिका सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूची रहेको जानकारी संसद् सचिवालयले दिएको छ।

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - ०९:५९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij