२०८३ आश्विन १ गते बिहिवार
गुल्मी । एउटै आमाले एकैपटक चार सन्तानको जन्म दिएको घटना विरलै सुन्न र देख्न पाइन्छ । गुल्मीमा पनि शनिबार एउटा त्यस्तै घटना भयो । मदाने गाउँपालिकाकी २५ वर्षीया विष्णु विकले शनिबार एकैपटक चार छोरीको जन्म दिइन् । घरबाट बेथा लागेपछि उनलाई गाउँका दिदीबहिनीको सहयोगमा प्युठान अस्पताल पु¥याइयो । दुई छोरी प्युठान अस्पताल नपुग्दै जन्मिए भने दुई छोरी प्युठान अस्पतालमा पुगेपछि ।
चार छोरीको जन्म भएपछि उनको जताततै चर्चा भयो । सामाजिक सञ्जालदेखि समाचारका हेडलाइन उनैका नाममा बने । चारमध्ये दुई छोरीको निधन भएपनि दुई छोरी भने जीवित नै थिए । आमासहित दुई छोरी बचाउन सफल भएकोमा परिवार र अस्पताल पनि खुसी थियो । आमा विष्णु पनि दुई छोरी भएपनि बाँचेकोमा आधा खुसी थिइन् । तर दुर्भाग्य, उनको त्यो खुसी २४ घण्टा पनि टिक्न सकेन । बाँचेका दुई छोरीको पनि प्युठान अस्पतालमा निधन भयो ।
‘बच्चा जन्मँदा नै आठ सय ग्रामभन्दा कम तौलका थिए, बचाउन सकिने कुनै ठाउँ नै थिएन,’ प्युठान अस्पतालका निमित्त प्रमुख आभास योगीले भने, ‘बच्चालाई सास फेर्न गाह्रो भएकाले अस्पतालमा निधन भयो ।’
सामान्यतया बच्चा ९ महिना एक साता अर्थात् ४० साता पुगेपछि जन्मिने भएपनि विष्णुले भने २९ सातामै बच्चालाई जन्म दिइन् । बच्चा जन्मने अवधिभन्दा ११ साताअघि नै जन्मिएकाले बचाउन नसकिएको योगीले बताए । दुई छोरीको प्युठान अस्पताल पुग्नुभन्दा पहिले नै निधन भएकोमा बाँकी दुई छोरीको शनिबार राति ३ र ६ बजे निधन भयो ।
‘आमालाई बचाउन सक्यौं,’ डा. योगीले भने, ‘छिटो जन्मने बच्चाको सास फेर्ने प्रणाली विकसित भइसकेको हुँदैन, यसैले पनि बचाउन सकेनौं ।’
विष्णुले नियमित गर्भ जाँच गराइरहेकोमा एउटा बच्चा उल्टो भएकाले उनलाई प्युठान अस्पताल पु¥याइएको थियो । अहिले आमा विष्णुको अवस्था खतरामुक्त छ । केही दिनपछि उनलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij