Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री झापामा

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री झापामा


  • 1.3K
    Shares

    हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री झापामा
    images

    काठमाडौं । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् ।

    आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरे ।

    भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए ।

    सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ ।

    गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका-४ स्थित बाहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका-६ सन्तपुर पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरेका छन् ।

    गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोस्टको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको जानकारी छ ।

    त्यसपछि उनी मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरे । त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व सङ्कलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिए ।

    झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, अवैध सीमा गतिविधि तथा बाहुण्डाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन् । उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

    बाहुण्डाँगीमा उनले जङ्गली हात्तीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरी त्यहाँका जनताले भोगिरहेका समस्या, गुनासा र सुझाव सङ्कलन गर्ने कार्यक्रम छ । 

    गृहमन्त्री गुरुङको भ्रमणलाई मध्यनजर गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन् ।  

     

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १५:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij