२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । यातायात व्यवस्था कार्यालय बारा परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले चासो व्यक्त गरेको छ ।
लाइसेन्स बनाउने कामका लागि आएका एक सेवाग्राहीसँग वादविवाद भएपछि कार्यालय प्रमुख चिन्तन आचार्यसहितका कर्मचारीहरु कुटपिटमा उत्रिएका हुन् ।
कार्यालय प्रमुखको कार्यकक्षभित्रै सेवाग्राही कुटिएको घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । साथै सामाजिक सन्जाल प्रयोगकर्ताले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत गरिरहेका छन् ।
भिडियोमा के छ ?
कोठाभित्र कार्यालय प्रमुख र उनको अघिल्तिर राखिएको सोफामा दुईजना प्रहरी र अर्का एक कर्मचारी बसिरहेका छन् । ढोकामा अर्का कर्मचारी उभिरहेको र एकजना सेवाग्राही कार्ड देखाउँदै कार्यालय प्रमुखसँग संवाद गरिरहेको देखिन्छ । सेवाग्राहीले हातमा रहेको कार्ड कार्यालय प्रमुखलाई हेर्न दिन्छन् ।
केहीबेर संवाद हुन्छ र त्यसक्रममा सोफामा बसेका सेवाग्राहीले मोबाइल खल्तीबाट निकालेर भिडियो खिच्न खोजेजस्तो देखिन्छ । त्यसपछि कार्यालय प्रमुख आक्रामक हुन्छन् ।
त्यतिकैमा ढोकामा रहेका कर्मचारीले सेवाग्राहीलाई जोडले धकेल्छन् । कार्यालय प्रमुख पनि आफ्नो आसनबाट उठेर सेवाग्राहीको गला थिचेको देखिन्छ । त्यसपछि अर्का कर्मचारीले पनि त्यस्तै गरिरहेको देखिन्छ ।
सोफामा बसिरहेका प्रहरी उठेर छुट्टाउन खोज्छन् । फेरि एक कर्मचारी भित्र आउँछन् र छेउमा रहेका अर्का कर्मचारी बाहिर निस्किएको देखिन्छ । एकछिनपछि मोबाइल समेत खोसेर छोड्छन् । त्यसपछि सेवाग्राहीलाई धम्काइरहेको देखिन्छ ।
गत फागुनको भिडियो
प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो सन् २०२६ मार्च १७ ९गत फागुन तेस्रो साता० को रहेको बताइएको छ ।
यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा हुन् ।
आचार्यका अनुसार कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी कामका लागि कार्यालय आएका थिए । उनले कर्मचारीहरुलाई धाकधम्कीका साथै गालीगलौज गरेपछि उक्त घटना भएको कार्यालय प्रमुख आचार्यले बताए ।
साथै सामाजिक सन्जालमा भाइरल भिडियो पूरा भाग नरहेको र त्यसको सानो क्लिप मात्र काटेर सार्वजनिक गरिएको निमित्त प्रमुख आचार्यको दाबी छ । घटना पश्चात् दुवै पक्ष बसेर मिलापत्र गरिसकेको पनि उनको जिकिर छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij