Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज दिनभरका २९ खबर

आज दिनभरका २९ खबर


  • 1.6K
    Shares

    आज दिनभरका २९ खबर
    images

    १. सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा

    नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको आरोप लगाउनुभएको छ । आईतवार ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित गरिएको आरोप लगाउनुभएको हो । उहाँले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभयो । पत्रकारहरूको सूचनामा पहुँच सिमित भएको उहाँको आरोप छ । सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामथ्र्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गर्नुभयो । संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्नसक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउनु भयो । 

    २. विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छः पूर्वप्रधानमन्त्री नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताउनुभएको छ । आईतवार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । विश्व राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको उहाँको दाबी छ । अध्यक्ष नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताउनु भयो । उहाँले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गर्नुभयो । उहाँले चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको समेत बताउनु भयो । अध्यक्ष नेपालले चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवहरू मात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने बताउनु भयो । 

    ३. युरोपमा खेल्न सहज छैनः रोहित

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसनमा र युरोपमा खेल्न सहज नहुने बताएका छन् ।
    विश्वकप लिग–२ को श्रृंखलाअन्तर्गत नेपाली टोलीले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग जुलाई २१ तारिखदेखि त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ । लिग–२ को अंकतालिकाका नेदरल्यान्ड्स नेपालभन्दा माथिको टोली हो । समान २८ खेल खेलेको नामिबियासँग पनि नेपाल दुई अंकले मात्र अघि छ । श्रृंखला खेल्न जानुअघि बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले युरोप भ्रमणमा नतिजा निकाल्न सहज हुने उल्लेख गर्दै होम कन्डिसनभन्दा अवेमा खेल्ने गाह्रो हुने बताएका छन् । 

    ४. माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामथ्र्य नरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री बालेन्द्र साहसँग आफूलाई सिध्याउने सामथ्र्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गर्नुभयो । आफूहरुले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरुलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाउनु भयो । ओलीले आफूहरुलाई कमजोर पार्न सबै सामथ्र्य लगाएको पनि उहाँको आरोप छ । 

    ५. मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग

    प्रतिपक्षी दलहरुले मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलले जनमत पार्टीका प्रदेश सभा सदस्यहरुलाई समेत साथमै राखेर गरेको पत्रकार सम्मेलनमा मधेस सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, असन्तुलित, संघीयताको मर्मविपरित तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको हो । बजेट पुनर्लेखन गरी प्रदेश गौरवका योजनालाई समावेश नगरे बजेट कार्यान्वयन हुन नदिने चेतावनीसमेत उनीहरूले दिएका छन् । 

    ६. प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायम रहेको बताउनुभएको छ । महासंघले आईतवार ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जस्तोसुकै परिस्थितिमा पनि नेपालको प्रेस जगतले आm्नो कर्तव्य पूरा गर्न विभिन्न मूल्य चुकाउनुपरेको बताउनु भयो । संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिइसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु दुःखद् भएको बताउनु भयो ।

    ७. पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको कुनै सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो । आफूले सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको भन्दै उहाँले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पार्नुभयो । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उहाँको भनाइ छ । 

    ८. दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  यस खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो । ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदी भार नियन्त्रण हुनसके र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उहाँको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने उहाँको विश्वास छ ।

    ९.कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैनः सञ्चारमन्त्री

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनुभएको छ । आईतवार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनु भयो । सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्नुभयो । कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो । 

    १०. अष्ट्रेलियामा विद्युतीय सवारीको विक्रीमा नयाँ कीर्तिमान

    अष्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधन (ईभी) को विक्रीले जुन महिनामा लगातार पाँचौँ पटक नयाँ कीर्तिमान कायम गरेको छ । अष्ट्रेलियाको सवारी साधन उद्योगको छाता संगठन ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसिएआई) का अनुसार अष्ट्रेलियाका लागि चीन अब सवारी साधनको प्रमुख स्रोत मुलुकका रूपमा स्थापित भएको छ । एफसिएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार जुन महिनामा अष्ट्रेलियाभर कुल १,४०,०५८ नयाँ सवारी साधन विक्री भएका छन् । जसमध्ये विद्युतीय सवारीको हिस्सा २३.३ प्रतिशत रहेको छ । यसअघि मे महिनामा २० प्रतिशत ईभी बिक्री भएकोमा जुनमा त्यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो । 

    ११. इबोला नियन्त्रणका लागि चिनियाँ विशेषज्ञको दोस्रो टोली कंगो पुग्यो

    इबोला भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने उद्देश्यका साथ चिनियाँ विशेषज्ञहरूको दोस्रो टोली प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) पुगेको छ । महामारी नियन्त्रणका लागि खटिएका विशेषज्ञहरूको यो टोली शुक्रबार कंगोको राजधानी किनशासा आइपुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि लुकु मालेयो मारियसले विमानस्थलमा चिनियाँ टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा उनले चीन र कंगोबीचको सम्बन्ध आधा शताब्दीभन्दा पुरानो रहेको चर्चा गर्दै विशेषगरी स्वास्थ्य क्षेत्रको सहकार्य अत्यन्तै फलदायी रहेको बताए । उच्चस्तरीय स्वास्थ्य सहकार्यले कंगोको सार्वजनिक स्वास्थ्य क्षमता सुदृढ गर्न प्रभावकारी भूमिका खेलेको मारियसको भनाइ थियो ।

    १२. टर्कीमा रहेका सिरियाली शरणार्थीहरूमा स्वदेश फिर्तीबारे अन्योल

    सिरियामा बसर अल–असादको शासन अन्त्य भएको झन्डै दुई वर्ष बितिसक्दा पनि टर्कीमा आश्रय लिइरहेका लाखौँ सिरियालीहरू स्वदेश फर्किने वा टर्कीमै आफ्नो जीवन अघि बढाउने भन्ने विषयमा अन्योलमा देखिएका छन् । टर्कीको अध्यागमन अधिकारीहरूकाअनुसार डिसेम्बर २०२४ मा असाद सरकारको पतन भएयता करिव ७ लाख सिरियालीहरू स्वेच्छाले घर फर्किएका छन् । यद्यपि, अझै पनि २२ लाख सिरियालीहरू टर्कीमै बसोवास गरिरहेका छन् । यस तथ्याङ्कले ठूलो सङ्ख्यामा रहेका शरणार्थीहरू अझै पनि कठिन निर्णयको दोधारमा रहेको स्पष्ट पार्छ । धेरै शरणार्थीहरूका लागि स्वदेश फर्किने निर्णय अब सुरक्षा अवस्थामा मात्र सिमित छैन । 

    १३. दक्षिण अफ्रिकामा हिंसा बढेपछि युगाण्डाद्वारा आफ्ना नागरिकको उद्धार

    दक्षिण अफ्रिकामा जारी विदेशी नागरिक लक्षित हिंसा र आप्रवासी विरोधी प्रदर्शनका बीच युगाण्डा सरकारले आफ्ना नागरिकहरूको पहिलो समूहलाई स्वदेश फर्काएको छ । जोहानेसबर्गस्थित ओ.आर. टाम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत २७३ जना युगान्डाली नागरिक इन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । युगाण्डाको परराष्ट्र मन्त्रालयकाअनुसार दक्षिण अफ्रिकामा बढ्दै गएको आप्रवासी विरोधी हिंसा र असुरक्षाका बीच राष्ट्रपति योवेरी मुसेभेनीले आफ्ना नागरिकको सुरक्षा र हित सुनिश्चित गर्न दिएको निर्देशनअनुरूप यो उद्धार कार्य गरिएको हो । युगाण्डाको परराष्ट्र मन्त्रालयअन्तर्गत डायस्पोरा विभागका प्रमुख डिक्सन ओग्वाङले आफ्ना नागरिक जहाँ भएपनि उनीहरूको सुरक्षा र कल्याण सरकारको प्रमुख चासोको विषय रहेको बताउनु भयो । उहाँले दक्षिण अफ्रिकामा रहेका कतिपय नागरिकले स्वदेश फर्कने इच्छा व्यक्त गरेपछि राष्ट्रपतिले उनीहरूलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

    १४. नयाँ दिल्लीमा ३५ औँ आँप महोत्सव, ४ सय भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा

    भारतको राजधानी नयाँ दिल्लीमा ३५ औँ वार्षिक आँप महोत्सव जारी छ । तीन दिनसम्म चल्ने यस मेलामा देशभरका आँप प्रेमी, किसान र बागवानी विज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ । यस वर्षको महोत्सवमा भारतका विभिन्न राज्यका किसानले प्रत्यक्ष रूपमा ल्याएका ४ सय भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनमा राखिएका छन् । यस प्रदर्शनीले भारतको समृद्ध कृषि सम्पदा र फलफूलको विविधतालाई उजागर गरेको छ । महोत्सवको प्रमुख आकर्षणको रूपमा ‘अनलिमिटेड म्याङ्गो इटिङ च्यालेन्ज’ (असीमित आँप खाने चुनौती) रहेको छ । यस अन्तर्गत सहभागीहरूले मात्र १०० भारतीय रुपैयाँ (करिव १ अमेरिकी डलर) मा आफूले चाहे जति आँप खान पाउने व्यवस्था गरिएको छ । यस रोचक गतिविधिले वार्षिक उत्सवमा थप मनोरञ्जन र उत्साह थपेको छ । 

    १५. म्यानमारको प्रसिद्ध स्वेडागन प्यागोडामा पर्यटकको आकर्षण बढ्दो, ६ महिनामा ३८ लाखभन्दा बढीले गरे भ्रमण

    म्यानमारको ऐतिहासिक एवं प्रसिद्ध स्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा चालु वर्षको पहिलो ६ महिनामा पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्यागोडा बोर्ड अफ ट्रष्टीका सदस्य उ बो थिनले दिनुभएको जानकारीअनुसार जनवरीदेखि जुनसम्मको अवधिमा ३८ लाख ७० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकले यस स्थलको भ्रमण गरेका छन् । यस अवधिमा प्यागोडाको भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या ४० हजारभन्दा बढी रहेको छ । विदेशी पर्यटकहरूमध्ये सबैभन्दा बढी चीन र थाइल्याण्डका नागरिकहरू रहेको बोर्डले जनाएको छ । 

    १६. लुहान्स्क पूर्ण रूपमा मुक्त भएको रूसी राष्ट्रपति पुटिनको घोषणा

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क जनगणतन्त्रको पूर्ण मुक्ति भएको घोषणा गर्नुभएको छ । संयुक्त सैन्य बलको एक अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले सो जानकारी दिनुभएको हो । बैठकका क्रममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, ‘हालै लुहान्स्क जनगणतन्त्रलाई पूर्ण रूपमा मुक्त गर्ने कार्य सम्पन्न भएको छ ।’ उहाँले डोनेट्स्क जनगणतन्त्रका साथै जापोरिझिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचनाहरू नष्ट गर्ने अभियान अझै जारी रहेको समेत उल्लेख गर्नुभयो । यसैगरी, राष्ट्रपति पुटिनले युक्रेनका खार्किभ, सुमी र निप्रोपेत्रोव्स्क क्षेत्रका सीमावर्ती इलाकाहरूमा सुरक्षा क्षेत्र  निर्माण गर्ने कार्य योजनाअनुसार नै अगाडि बढिरहेको दाबी गर्नुभएको छ ।

    १७. विश्वकपको अन्तिम १६ मा इजिप्टको ऐतिहासिक प्रवेशसँगै देशभर खुशीयाली

    इजिप्ट जारी फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै प्रतिष्पर्धात्मक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो । डालसमा भएको ‘राउण्ड अफ ३२’ को खेल निर्धारित समय र अतिरिक्त समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा अस्ट्रेलियालाई ४–२ ले स्तब्ध पार्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलको पहिलो हाफमा इमाम आशुरले गोल गर्दै इजिप्टलाई शुरुवाती अग्रता दिलाएका थिए । 

    १८. अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे

    नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले अर्थतन्त्रलाई सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले हाल न्युन ब्याजदरका बाबजुद पनि निजी क्षेत्रबाट कर्जाको माग बढ्न बताउनु भयो । नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा अर्थतन्त्रलाई चलायमान बनाउन केही नीतिगत लचकता र सुधारका प्रयास गरेका कारण हाल नीतिगत दर र ब्याजदर न्युन स्तरमा पुगेको उहाँको भनाई छ । तर कर्जा माग अत्यन्त कमजोर रहेकाले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम निष्क्रिय रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार गत आर्थिक वर्षको तुलनामा हाल निजी क्षेत्रतर्फको कर्जा प्रवाह निक्षेप वृद्धि निकै पछाडि परेको छ । 

    १९. कम्तिमा ३ वर्षलाई आधार बनाएर मौद्रिक नीति तयार गरौँ ः अर्थविद् थापा

    अर्थविद् नरबहादुर थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ३ देखि ५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित ल्याउनुपर्ने सुझाव दिनुभएको छ । आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले नेपालको वित्तीय क्षेत्र संरचनागत समस्याबाट गुज्रिरहेकोले दीर्घकालिन सोच राखेर मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिनुभएको हो । उहाँले मुलुक वित्तीय संघीयतामा प्रवेश गरिसकेको अवस्थामा व्यापक संरचनागत सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले अब वार्षिक लक्ष्यमा सिमित नभई मध्यमकालीन समयसीमालाई आधार बनाएर मौद्रिक नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । यस्तो नीतिले राष्ट्र बैंकलाई संरचनागत सुधार अघि बढाउने आधार र शाहस प्रदान गर्ने उहाँको भनाई छ ।

    २०. कर्जा विस्तार हुँदा बर्बाद भयो भन्ने सोचले अर्थतन्त्र सुस्तायोः पूर्वगभर्नर नेपाल

    पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई रोक्ने नीति लिँदा अपेक्षित आर्थिक वृद्धि हुन नसकेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले कर्जा विस्तार नभएसम्म आर्थिक वृद्धि नहुने बताउनुभएको हो । उहाँले राष्ट्र बैकलाई स्वायत्त हुन नदिँदा बैकले सरकारको दबाबमा कयौँ गलत निर्णय गर्न बाध्य भएको आरोप लगाउनु भयो । विगतमा कर्जा विस्तार भइरहेको समयमा सरकारले नै कर्जा विस्तारमा कडाई गर्न दबाब दिएको कारण हाल मुलुक आर्थिक समस्यमा फसेको उहाँको भनाई छ । विगतमा १८ देखि २० प्रतिशतसम्म कर्जा विस्तार हुँदा ६ देखि ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएको स्मरण गराउँदै उहाँले १२ प्रतिशतको लक्ष्य राख्दा पनि कर्जा विस्तार हुन नसकेको बताउनु भयो । उहाँले कर्जा विस्तार नहुँदा पनि ४ प्रतिशतको हाराहारीमा भने आर्थिक वृद्धि हुने उल्लेख गर्नुभयो । 

    २१. निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीहरुलाई समयमा नै भुक्तानी नदिँदा बैकिङ प्रणालीमा दबाब सिर्जना भएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले ठेक्का रोक्का हुने वा भुक्तानी ढिलो हुने अवस्थाले बैंकिङ प्रणालीमा थप खराब कर्जा (एनपीएल) बढ्ने जोखिम रहेको बताउनुभएको हो । निर्माण क्षेत्रमा बैंकहरूको करिव पाँच खर्ब रुपैयाँ कर्जा लगानी रहेको उल्लेख गर्दै उहाँले सरकारले निर्माण व्यवसायीका काम सम्बोधन गर्नुपर्ने बताउनु भयो । मौद्रिक नीतिमार्फत भुक्तानी सहजीकरण गर्न उहाँले आग्रह गर्नुभयो । सरकारले समयमै भुक्तानी गर्ने वा ठेक्का हस्तान्तरणजस्ता वैकल्पिक व्यवस्था गरेमा कर्जा व्यवस्थापन सहज हुने र बैंकिङ प्रणालीमा पर्ने दबाब कम हुने उहाँको भनाई छ । 

    २२. मौद्रिक नीति लचिलो आउँछ, कसिलो गर्नुपर्ने कुनै कारण छैनः पूर्वगभर्नर अधिकारी

    पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभुत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो हुने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले मौद्रिक नीतिलाई कसिलो गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको हो । उहाँले मूल्य स्थिरता र वाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउने आवश्यक नरहेको बताउनु भयो । मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य विषय भएको उल्लेख गर्दै उहाँले देशभित्रको आर्थिक अवस्था र वाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने बताउनु भयो ।

    २३. मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले अर्थतन्त्र सुधारको लागि बजेटले सम्बोधन गर्न नसकेका विषयलाई समेटेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले बजेटले केही विषय सम्बोधन गरेपनि निजी क्षेत्रका बाँकी मागहरु मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने उहाँको भनाई छ । अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँले बताउनु भयो । विगतका मौद्रिक नीतिले व्यवसायीलाई राहत दिएको स्मरण गराउँदै उहाँले यसपटक पनि उत्पादन, लगानी र रोजगारी प्रवद्र्धन गर्ने नीति आउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा नै रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । रोजगार सिर्जना गर्न नसकेको आरोप राज्य र निजी क्षेत्र दुवैले खेपिरहेको उहाँको भनाई छ । 

    २४. ‘७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ’

    सांसदहरूले आगामी मौद्रिक नीति सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग पुग्नेगरी आउनुपर्नेमा जोड दिएका छन् । आईतवार सिंहदरबारमा कसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । बैंकिङ प्रणालीमा थुप्रिएको तरलता परिचालन, निजी क्षेत्रको मनोबल उकास्ने र परियोजनामुखी कर्जा विस्तार गर्नेगरी अगामी मौद्रिक नीति आउनुपर्नेमा उनीहरुको जोड छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनको लागि मौद्रिक नीतिले सहयोगी भुमिका खेल्नुपर्ने बताउनु भयो ।

    २५. गगन थापा भन्छन्– ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका  सुक्ष्म पक्षलाई हलुका रुपमा लिइरहेको टिप्पणी गर्नुभयो । उहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भएपनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिनुभयो । उहाँले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

    २६. सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता छः गगन थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनुभएको छ । 
    आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षामा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा सिमित रहेको उहाँको टिप्पणी छ । सभापति थापाले भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भएपनि वैकल्पिक व्यवस्थापनबिना टोल टोलमा डोजर आतंक मच्चाएको समेत आरोप लगाउनु भयो ।

    २७. सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाउनुभएकको छ ।  आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भएपनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा काँग्रेस व्यक्ति, नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने समेत स्पष्ट पार्नुभयो । तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उहाँको आरोप छ । 

    २८. सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछः पुष्पकमल दाहाल

    प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाई छ । उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरु खारेज गर्ने, ट्रेड युनियन अधिकारहरु खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरु भएकाले आफूले संसदमा पनि धेरै विषयहरु बोल्ने पनि बताउनु भयो ।

    २९. हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई जेन–जी आन्दोलनको समयमा भूराजनीतिक संघर्षले निरिह बनाएको टिप्पणी गर्नुभएको छ । आईतवार पार्टीको उपत्यका समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेन–जी आन्दोलनको बेला आफूहरुलाई पार्टीको नेता, कार्यकर्ताले नबचाएको गुनासो गर्नुभएको हो । संयोजक दाहालले तत्कालीन अवस्थामा प्रक्रियावादीहरुले चाहेको भए आफूलाई समाप्त पार्ने  अवस्था रहेको पनि बताउनु भयो । उहाँले जेन–जी आन्दोलनमा विध्वंश मच्चाउनेहरुले नै फेरि आफूहरुलाई बोलाएर राजनीतिक निकासका लागि परामर्श गरेको र त्यो अनौठो किसिमको रहेको अनुभूति पनि सुनाउनु भयो ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - १९:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij