२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो कार्यकालको सय दिने प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शनिबार एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी सरकारले यस अवधिमा गरेका महत्त्वपूर्ण कामहरूको समीक्षासहित उपलब्धिका सूचीहरू सार्वजनिक गरेको हो।
जेनजी आन्दोलनपछि गत फागुन २१ गते सम्पन्न निर्वाचनको जगमा चैत १३ गते शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेर गठन भएको यस सरकारले सुरुवाती चरणमै सय दिनभित्र गर्ने कार्यहरूको विशेष सूची सार्वजनिक गरेको थियो।
प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले २०४८ सालपछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको विषयलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। यसका साथै विभिन्न निकायमा गरिएका १ हजार ५ सय ९४ वटा राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन तथा विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन खारेजी, र स्थानीय तहमा लामो समयदेखि कायम प्रमुख प्रशासकीय अधिकृतको समस्या अन्त्यलाई सरकारले उपलब्धि मानेको छ।
त्यस्तै, सिंहदरबार र काठमाडौँमा अखडा जमाएर बसेका पहुँचवाला कर्मचारीहरूको देशव्यापी विस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीहरूको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानका लागि गरिएका पहल र सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने प्रयासलाई समेत सरकारले उच्च प्राथमिकताका साथ समेटेको छ।प्रशासनिक र कानुनी सुधारका क्षेत्रमा मन्त्रालयहरूको सङ्ख्या कटौती, अनावश्यक दरबन्दी खारेजी, सेवाप्रवाहमा सुधार तथा प्रक्रियागत झन्झट घटाउने थालनीलाई सरकारले महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेको छ।
कानुन सुधारलाई प्राथमिकतामा राख्दै सयभन्दा बढी कानुन संशोधनको गृहकार्य सुरु गरिएको छ भने भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन अघि बढाइएको छ। यस्तै, प्रशासनिक क्षेत्रलाई थप व्यवस्थित बनाउन कर्मचारी सरुवा प्रणालीमा पहिलोपटक अनलाइन प्रणालीको थालनी गरिएको विषयलाई पनि सरकारले आफ्नो सफलताका रूपमा प्रस्तुत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij