२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको सय दिने कार्यकाल पूर्ण रूपमा असफल र उपलब्धी शून्य भएको दाबी गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल आइपुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै सरकारको आलोचना गरेका हुन् ।
जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारको सय दिन पूर्ण रूपमा असफल भएको देख्छु म, संयोजक प्रचण्डले भने। सरकारले जनताका अपेक्षाहरू पूरा गर्न नसकेको र यस अवधिमा कुनै पनि ठोस परिणाम आउन नसकेको उनको आरोप थियो।
पत्रकारहरूले सोधेको वाम एकता सम्बन्धी प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले तत्काल वाम एकताको कुनै सम्भावना नरहेको तर राजनीतिक दलहरूबीच सहकार्यका लागि आफूहरूले समन्वय गरिरहेको प्रष्ट पारेका छन्। वाम एकताभन्दा पनि कांग्रेस–एमाले लगायत सबैसँग सहकार्यको कुरा हो। अहिले एकताको कुरा छैन, सहकार्यका लागि हामीले समन्वय गरिराखेका छौँ, उनले भने।
पार्टी एकतापछिको पहिलो प्रदेशस्तरीय प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रमका लागि प्रचण्डसँगै नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र बलदेव खनाल लगायतका शीर्ष नेताहरू बुटवल पुगेका छन्।कार्यक्रममा लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई पार्टीको आगामी कार्यदिशा र सङ्गठन सुदृढीकरणका बारेमा प्रशिक्षण दिइने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij