२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले पछिल्लो १०० दिनको अवधिमा हुलाक सेवालाई सुदृढ बनाउँदै ५ हजार ७२८ थान राहदानी (पासपोर्ट) र १ हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरदैलोमै पुर्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा यो विवरण उल्लेख गरिएको हो।
वितरणमन्त्रालयका अनुसार हुम्ला र भोजपुरबाहेक देशका ७५ जिल्लामा जिल्ला हुलाक कार्यालयमार्फत ५ हजार ७२८ थान राहदानी सिधै सेवाग्राहीको घरमै पुर्याइएको छ। यसका साथै राहदानी विभागबाट प्राप्त २ लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसम्म ढुवानी गरिएको छ।
सरकार गठनको सय दिनको अवधिमा कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा गरी ७ वटा जिल्लामा १ हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पुर्याइएको मन्त्रालयले जनाएको छ। हुलाक सेवालाई छिटो र छरितो बनाउन सरकारले डाँकरेखा पुनरावलोकन गरी लागू गरेको छ। यस सुधारका कारण यसअघि पोखराबाट पाल्पासम्म पुग्न १० दिन लाग्ने हुलाक वस्तुहरू अब मात्र २ दिनमा सम्बन्धित स्थानमा पुग्ने दाबी मन्त्रालयको रिपोर्टमा गरिएको छ।
मन्त्रालयका अनुसार गत असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ थान सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ। यसका साथै नयाँ आवेदन परेका २१ लाख ७ हजार ९६८ वटा लाइसेन्सको हकमा यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गर्ने व्यवस्था मिलाइएको छ।
सरकारले यसै अवधिमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र नेपाल खुल्ला विश्वविद्यालयसँगको सम्झौताबमोजिम २६३ थान शैक्षिक प्रमाणपत्रहरू विद्यार्थीको घरदैलोमै पुर्याएको छ। यसका साथै स्वास्थ्य क्षेत्रतर्फ १७ वटा अस्पतालबाट १ हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुनाहरू सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइएको मन्त्रालयले जनाएको छ। हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन सरकारले नयाँ कदम चालेको छ। यसअन्तर्गत देशभरका ५० वटा हुलाक कार्यालयहरूलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’ बनाउनका लागि छनोट गरी प्रक्रिया अगाडि बढाइएको सारांशमा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij