२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । भारतको उत्तराखण्डमा सवारी दुर्घटना हुँदा दुई जना नेपाली युवकको मृत्यु भएको छ। दिल्लीबाट मोटरसाइकलमा घर फर्किने क्रममा भारतीय कारले ठक्कर दिँदा कञ्चनपुरका दुई युवकको ज्यान गएको हो।
मृत्यु हुनेहरूमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ का राहुल चदारो र वडा नम्बर ९ का कमल खड्का रहेका छन्। उनीहरू भारतको दिल्लीमा काम गर्दै आएका थिए।उत्तराखण्ड राज्यस्थित उधमसिंह नगरको नानकमत्ता क्षेत्रअन्तर्गत बिडोरा–मझोला सडकखण्डमा शुक्रबार तीव्र गतिमा गुडेको कार र उनीहरू सवार मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनालगत्तै गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र सितारगन्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि कार चालक फरार रहेका छन्। दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोपीलाल कँडेलका अनुसार फरार चालकविरुद्ध भारतीय प्रहरीमा एफआईआर दर्ता गर्ने तयारी भइरहेको छ।मृतकका आफन्तहरू शनिबार शव बुझ्न भारत प्रस्थान गरिसकेका छन्। शवको पोस्टमार्टमपछि आजै नेपाल ल्याइने दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij