२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । शनिबार देशभरको मौसम अधिकांश स्थानमा बदली भई मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । सहरहरूको मौसम पूर्वानुमान अनुसार दिउँसो केही तराई र पूर्वी भेगका सहरहरूमा पानी नपरे पनि राति भने देशैभर वर्षाको सम्भावना रहेको छ।
पूर्वानुमान अनुसार दिउँसोको समयमा सिमरा, विराटनगर, धरान र जनकपुरमा पानी पर्ने छैन । यी चार सहरमा दिउँसो आंशिक बादल मात्र लाग्ने र वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ।
तर, यी बाहेकका डडेल्धुरादेखि ताप्लेजुङसम्मका अन्य सबै सहरमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। दिउँसोको समयमा काठमाडौँ र पोखरामा पानी पर्ने सम्भावना सबैभन्दा धेरै अर्थात् ६० प्रतिशत रहेको छ।
तापक्रमको कुरा गर्दा दिउँसो धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी महसुस हुनेछ। यी दुई सहरको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी दिपायल, जनकपुर र सिमराको अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियसको बीचमा रहनेछ। पहाडी र हिमाली जिल्लाहरूमा भने तापक्रम सामान्य रहनेछ। जोमसोम र जिरीको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियस मात्र रहनेछ।
रातिको समयमा डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज र काठमाडौँमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ। अन्य सहरहरूमा भने २० देखि ४० प्रतिशतसम्म वर्षाको सम्भावना छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij