२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत कार्कीले सरकारी वकिलका रूपमा आफ्नो पेसा सुरु गरेका थिए । पछि न्याय सेवामै समूह परिवर्तन गरी न्याय प्रशासनतर्फ लागेका उनले यो सिफारिससँगै रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।
त्यस्तै, परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र ओखलढुङ्गाका अवकाशप्राप्त गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञका रूपमा काम गरी डीआईजीबाट अवकाश पाएका डा. सुब्बा हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन् भने वाग्ले निर्वाचन आयोगबाटै उपन्यायाधीवक्ता (सरकारी वकिल) का रूपमा अवकाश भएका व्यक्ति हुन् ।
दुई वर्षअघि प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि नयाँ प्रमुख आयुक्त नियुक्त हुन नसक्दा गत २१ फागुनको निर्वाचन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा गराइएको थियो। उमेरहदका कारण भण्डारी पनि अर्को साता ६५ वर्ष पुगेर अवकाश हुँदैछन्। यसअघि प्रमुख निर्वाचन आयुक्त थपलिया र निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको अवकाशपछि नयाँ आयुक्तहरू नियुक्त नहुँदा निर्वाचन आयोगमा दुई पदाधिकारीको पद रिक्त रहँदै आएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij