२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गुल्मीमा सरकारले किसानका लागि उपलब्ध गराएको अनुदानको रासायनिक मल कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका-१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डे रहेका छन्।
उक्त सहकारीमार्फत सहुलियतमा बिक्री–वितरण गर्न अनुदान प्राप्त युरिया र डीएपी मल अनधिकृत रूपमा बढी मूल्यमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानबाट अनुदानमा खरिद गरिएको रासायनिक मल स्थानीय व्यापारीमार्फत चर्को मूल्यमा बिक्री–वितरण गरिएको खुलेको उनले जानकारी दिएका छन् ।
प्रहरीले विभिन्न पसल तथा घरबाट युरिया मल ५० केजीका २१४ बोरा र डीएपी मल ५० केजीका १०६ बोरा गरी कुल ३२० बोरा रासायनिक मल पनि बरामद गरेको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाँच दिनको म्याद थप गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij