२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका एक जना यात्रुको पहिचान भएको छ। कालीकोटको पचाल झरना गाउँपालिका-९ निवासी ४५ वर्षीय जेखे तिरुवाको शव सनाखत भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बुधबार दिउँसो दुर्घटना भएलगत्तै उनको शव फेला परे पनि पहिचान भने बिहीबार मात्र खुलेको हो। मृतक तिरुवाको शव पोस्टमार्टमका लागि दैलेखको दुल्लुस्थित नगर अस्पतालमा राखिएको छ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ को साङ्गेतडा नजिकैबाट कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४\५ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। नदीमा बेपत्ता भएका अन्य यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा लगातार खटिएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायाका अनुसार दुर्घटनाग्रस्त गाडीमा चालकसहित ५ देखि ६ जना यात्रु सवार रहेको अनुमान गरिए पनि वास्तविक संख्या अझै यकिन हुन सकेको छैन।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सो गाडी दैलेख सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिममा दुर्घटनामा परेको हो। नदीको तीव्र बहावका कारण खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij