२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ८.७८ अंकले बढेर २,६६१ को विन्दुमा कायम भएको छ ।
आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ ।
ठूलो पूँजीका कम्पनी खासगरी वाणिज्य बैंकहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटेपनि बजार बढेको हो । बैंकिङ समूहकै कारण आज बजार हरियोमा बन्द भयो। सो समूहको सूचक सबैभन्दा धेरै २.०४ प्रतिशत बढेको छ ।
त्यस्तै फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढेको छ । विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटेको छ ।
चार कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत कम्पनी छन् । यीमध्ये तीन कम्पनी हालै सूचीकृत भएका हुन् ।
त्यस्तै धौलागिरि लघुवित्तको १३.६७, आत्मनिर्भर लघुवित्तको १०.०९, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५३ प्रतिशत मूल्य बढेको छ । भुजुङ हाइड्रोपावरको ९.४३, सामुदायिक लघुवित्तको ७.८३, सीवाईसी लघुवित्तको ७.२३ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ५.५६ प्रतिशत मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत् कम्पनी र साहस ऊर्जा छन्। हिजोको तुलनामा आज भने कारोबार रकम बढेको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको ४० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij