२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कार्यरत सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा गएसँगै सरकारी सेवाका चारवटा महत्त्वपूर्ण निकायहरू सचिवविहीन बनेका छन्। सचिव बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट (opmcm.gov.np) का अनुसार हाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद्को सचिवालयमा सचिवको दरबन्दी रिक्त रहेको छ। यी ४ वटा निकायमध्ये केही त लामो समयदेखि नै नेतृत्वविहीन अवस्थामा छन्। एकातिर महत्त्वपूर्ण निकायहरू सचिवविहीन बनिरहँदा, अर्कोतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ६ जना सचिवहरूलाई कुनै जिम्मेवारी नदिई अतिरिक्त समूह (जगेडा) मा राखिएको छ।
गत जेठ २२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूलाई जगेडामा राखिएको हो। प्रधानमन्त्री कार्यालयको वेबसाइटका अनुसार अतिरिक्त समूहमा रहेका सचिवहरूमा डा. गोविन्द शर्मा, डा. डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, डा. कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे रहेका छन्। यीमध्ये सचिव डुण्डुराज घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। घिमिरेले यसअघि पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा काम गर्दा पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमितता गरेको अख्तियारको दाबी छ। निलम्बित घिमिरेबाहेक बाँकी ५ जना सचिवहरूलाई भने कुनै दोष वा कारबाही बिना नै जिम्मेवारीविहीन बनाएर अतिरिक्त समूहमा राखिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij