२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पालुङटार नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी एकदिने उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम पालुङटार नगरपालिका सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीबाट आर्जन गरिएको सीप, अनुभव, ज्ञान तथा पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै युवाहरूलाई स्वदेशमै स्वरोजगार तथा उद्यमशीलतामा आबद्ध गराउनु, आर्थिक रूपमा आत्मनिर्भर बनाउनु तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नु रहेको थियो। साथै, सहभागीहरूलाई वित्तीय अनुशासन, बचत तथा लगानी व्यवस्थापन, बैंकिङ सेवाको प्रभावकारी उपयोग, व्यवसाय योजना निर्माण, उद्यम सञ्चालनका आधारभूत पक्ष तथा उपलब्ध सरकारी सहुलियत र अवसरसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा उद्यमशीलताको विकास, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, रोजगारी सिर्जना, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र स्थानीय आर्थिक विकासमा युवाको सक्रिय सहभागिताको महत्वबारे समेत विस्तृत छलफल गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाको अनुभवलाई स्थानीय विकाससँग जोड्दै उनीहरूलाई स्वदेशमै सम्मानजनक रोजगारी तथा उद्यम स्थापना गर्न प्रेरित गर्ने विषयमा विशेष जोड दिइएको थियो।
यस्ता कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूमा उद्यम सञ्चालनप्रति आत्मविश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय निर्णय क्षमता विकास, जोखिम व्यवस्थापन, पूँजीको प्रभावकारी परिचालन तथा दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, स्थानीय तहको आर्थिक तथा सामाजिक विकासमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्न, आयआर्जनका अवसर विस्तार गर्न र समृद्ध पालुङटार निर्माणको अभियानलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij