Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सिद्धबाबाका विद्यार्थीलाई दिवा खाजामा ‘चटपटे’

सिद्धबाबाका विद्यार्थीलाई दिवा खाजामा ‘चटपटे’


  • 1.0K
    Shares

    सिद्धबाबाका विद्यार्थीलाई दिवा खाजामा ‘चटपटे’
    images

    गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा स्थानीयस्तरमै उपलब्ध पौष्टिक खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष ‘पोषिलो चटपटे’ दिवा खाजामा खुवाइएको छ । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कक्षा ५ सम्म अध्ययनरत करिब ६ सय विद्यार्थीलाई पोषिलो चटपटे खुवाइएको हो ।

    बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्ने, जंक फुडप्रतिको बढ्दो आकर्षण कम गर्ने तथा स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा चना, कमै, केराउ, मासु, आलु, गाजर, काक्रो, सिमी लगायतका पौष्टिक तत्वले भरिपूर्ण खाद्य सामग्री प्रयोग गरी चटपटे तयार गरिएको थियो ।

    स्वादसँगै पोषण पनि सुनिश्चित हुने भएकाले विद्यार्थीहरूले चासोका साथ दिवा खाजा ग्रहण गरेका थिए । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीले स्थानीय स्तरमा सहज रूपमा पाइने खाद्यवस्तुबाट पनि पोषणयुक्त परिकार बनाउन सकिने सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइन् ।

    उनले विद्यालय तहदेखि नै सन्तुलित आहारको महत्वबारे जानकारी गराउँदै बालबालिकालाई पोषणयुक्त खानेकुरा खाने बानी बसाल्न आवश्यक रहेको उल्लेख गरिन । यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायमा पनि सकारात्मक सन्देश पुग्ने विश्वास उनको भनाइ छ ।

    posilo-chatpatepc-3.jpg

    विद्यालयका शिक्षक यमलाल पाण्डेले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त आहार अत्यन्त आवश्यक रहेको बताए । विद्यालयमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले विद्यार्थीलाई स्वस्थ खानपानप्रति आकर्षित गर्नुका साथै स्थानीय उत्पादनको महत्व बुझाउन सहयोग पुगेको उनको भनाइ छ । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि पोषिलो चटपटेको स्वाद मन पराएको प्रतिक्रिया दिएका थिए ।

    दैनिक जीवनमा पनि स्थानीय स्तरमै पाइने पौष्टिक खाद्य सामग्रीको प्रयोग बढाउनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको नगरपालिकाले जनाएको छ । रेसुङ्गा नगरपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयस्तरमा पोषण, स्वास्थ्य तथा सरसफाइसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १०:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij