२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रौतहटको गौरस्थित एक निजी विद्यालयमा होमवर्क नगरेको भन्दै कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थीमाथि कुटपिट गरिएको आरोप लागेको छ। घटनापछि विद्यालय प्रशासनले अभिभावकसँग माफी मागेको छ भने सम्बन्धित निकायले घटनाको छानबिन गर्ने जनाएको छ।
गौर–बरहवा पुलको उत्तरतर्फ रहेको बालनिकेतन बोर्डिङ स्कुलमा अध्ययनरत दुई विद्यार्थीलाई विद्यालयका प्रिन्सिपलकी छोरीले पाइपले कुटपिट गरेको पीडित पक्षको आरोप छ।
अभिभावकका अनुसार कुटपिट गर्ने महिला विद्यालयकी नियमित शिक्षिका समेत होइनन्। कुटपिटबाट दुवै विद्यार्थीको खुट्टामा रातो डाम र चोट लागेको परिवारले जनाएको छ। घटनापछि बालबालिका शारीरिक मात्र होइन, मानसिक रूपमा समेत त्रसित बनेको अभिभावकको भनाइ छ।
अभिभावकहरूले विद्यालयमा यसअघि पनि विद्यार्थीमाथि दुर्व्यवहार हुने गरेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयवासीले विद्यालयमा हुने शारीरिक दण्ड बालअधिकारविपरीत रहेको उल्लेख गर्दै यस्ता घटनामा कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्। घटनापछि आक्रोशित अभिभावकसँग विद्यालय प्रशासनले माफी मागेको बताइएको छ।
गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम भट्टराईले सोमबार घटनाबारे जानकारी प्राप्त भएको बताउँदै विद्यालयमा अनुगमन गरी यथार्थ छानबिन गरिने जानकारी दिए।
घटनामा संलग्न व्यक्ति दोषी देखिए प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij