२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति पीआर लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार जना कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ।
स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका उनीहरूमाथि मन्त्रालयले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो। मन्त्रालयद्वारा जारी सूचना अनुसार ती कर्मचारीहरूले विदेशी मुलुकको अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति वा डाइभर्सिटी भिसा ९डिभी० लिएको पाइएको छ।
निजामती सेवा ऐनअनुसार पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यस्ता अनुमतिका लागि आवेदन दिन समेत नपाइने कानुनी व्यवस्था छ। स्वीकृत बिदा सकिएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था उल्लंघन गर्दै ती कर्मचारीहरू ऐनविपरीत विदेशमै बसेका हुन्। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी सेवाबाट निष्कासन गर्ने तयारी गरेको छ।
यसका लागि १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्।
मन्त्री रावलले भनिन्, निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध छ। कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको छ र कानुनअनुसार कडा निर्णय गरिनेछ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत खोजी कार्य र अध्ययनलाई तीव्रता दिएको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij