२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंका सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना विभिन्न मागहरू राख्दै विगत ९ दिनदेखि राजधानीको माइतीघर मण्डलामा लगातार प्रदर्शन गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि ससाना व्यवसाय वा काम गर्न रोक लगाएपछि उनीहरू आन्दोलनमा उत्रिनु परेको आन्दोलनकारीहरूले बताएका छन्। महानगरको यो कदमले आफूहरूको रोजीरोटी खोसिएको र जीवनयापनमा गम्भीर संकट पैदा भएको उनीहरूको गुनासो छ।
नगर प्रहरीमाथि अभद्र व्यवहारको आरोपप्रदर्शनमा सहभागी दृष्टिविहीनहरूले महानगरपालिका र नगर प्रहरीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखेका छन्। सडकपेटीमा काम गर्दा नगर प्रहरीबाट दमन हुने गरेको, दिनभर ुहोल्डिङ सेन्टरुमा थुनेर राखिने गरेको र विशेषगरी महिला दृष्टिविहीनहरूमाथि अभद्र व्यवहार हुने गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्।
आन्दोलनमा उत्रिएका दृष्टिविहीन नागरिकहरूले मुख्यगरी तीनवटा माग अघि सारेका छन्:
१. दृष्टिविहीन नागरिकहरूलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न दिइयोस्।
२. उनीहरूको योग्यता र क्षमता अनुसार राज्यले रोजगारीको ग्यारेन्टी गरोस्।
३. यदि राज्यले रोजगारी उपलब्ध गराउन सक्दैन भने वैकल्पिक व्यवस्था स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराइयोस्।
महानगरपालिकाले सडक व्यवस्थापनका नाममा मानवीय संवेदनशीलतालाई वेवास्ता गरेको भन्दै आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij