२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८ औँ संसद दिवसको अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिएकी छन् ।
सांसद गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन् । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उनको तर्क छ । प्रक्रियागत र प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाट टुङ्ग्याउन सकिने भन्दै उनले सदनको समय जनसरोकारका विषयमा मात्र खर्चिनुपर्ने बताइन्।
जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र सोही कोषबाट संसदको खर्च चल्ने भएकाले सांसदहरूले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उनले बताएकी छन्।
उनले भनिन्, हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ । यदि हामी संसदको मान राख्छौँ भने, त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ । त्यसो गर्न सक्यौँ भने संसद मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij