२०८३ आश्विन १ गते बिहिवार
गोरखा । गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० भन्दा बढी सुँगुर/बंगुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बंगुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बंगुर मरेका छन् ।
त्यस्तै मान्द्रेढुंगाका धनकुमार गुरुङको फार्मका ६० वटा बंगुर दुई साताको अवधिमा मरेका उनले जानकारी दिए । बाँकी अन्य किसानका फार्मका सुँगुर/बंगुर पनि संक्रमणका कारण मरेका हुन् ।
अहिलेसम्मको तथ्यांकअनुसार गोरखा नगरपालिका-६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुर/बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा यो रोगको संक्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ । कार्यालय प्रमुख कोइरालाले भने, ‘अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले संक्रमण भएपछि सुँगुर/बंगुर मर्नु निश्चितजस्तै हुन्छ । संक्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।’
उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो । ‘अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुर/बंगुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ’, कोइरालाले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij